संसदीय भूमिकामा महिलाहरूको मूल्याङ्कन भएनः मन्त्री शर्मा
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरूको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गरेकी छन् ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा महिलाहरूले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताएकी हुन् । उनले अवसर पाएका महिलाहरूलाई असफल हुने छुट नभएको बताइन् ।
संसदमा कानुन निर्माण गर्दा महिलाहरूले नै सबैभन्दा बढी संशोधन गर्ने भएपनि त्यसको मूल्याङ्कन हुन नसकेको बताइन् । मन्त्री शर्माले संसदमा कोरम पु(याउने सवालमा पनि महिलाहरूको उपस्थिति महत्त्वपूर्ण रहेपनि त्यसको बाहिरी पक्षमा मूल्याङ्कन गर्न नसकेको बताइन् । उनले संसदको बैठक आयोजना र व्यवस्थापन गर्ने कुरामा पनि महिलाहरूको बढी सहभागिता रहेकाले सञ्चारमाध्यमहरूले महिलाको मूल्याङ्कन गरी खोजमूलक पत्रकारिता गर्नुपर्ने बताइन् ।