राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो फेरि सरकारमा जाने संकेत

सोमबार, २९ फाल्गुन २०७९

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टीले पनि फेरि सरकारमा जाने संकेत गरेको छ। राष्ट्रपति निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडललाई मतदान गरेको रास्वपाले सरकारमा सहभागी हुने संकेत गरेको हो।

गठबन्धनमा सक्रिय अहिले आठ दल देखिएका छन् । प्रमुख दल कांग्रेससहित माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा गठबन्धनमा छन् ।

राष्ट्रपति निर्वाचनमा गठबन्धनका उमेदवार पौडललाई मतदान गरेको रास्वपा सरकारमा सहभागी हुने विषयमा छलफलमा जुटेको बताउँछन् ।

प्रधानमन्त्री स्वयंले १० दलीय गठबन्धन बन्ने भनेपछि दलहरूले कुन र कति मन्त्रालय पाउँछन् भन्ने आन्तरिक बहस हुन थाले पनि बाहिर अनौपचारिक रूपमै भए पनि बताउन चाहेका छैनन्, तैपनि दश दलीय गठबन्धनमा रास्वपा पनि सहभागी हुने चर्चा ब्यापक हुन् थालेको छ ।

“हामीले राजनीतिक स्थिरताका लागि पौडेललाई मतदान गरेका हौं,” रास्वपाका एक सांसदले भने ।

सरकारमा पनि सहभागी हुने हो ? भन्ने प्रश्नमा ती सांसदले भने, “यो विषयमा पनि संवाद हुन्छ । किनभने राजनीति गरेपछि कार्यसम्पादन देखाउने ठाउँ मन्त्रालय हो । हाम्रो स्वार्थ अनुकूल भयो अथवा हामीले काम गर्ने अवसर पाउने अवस्था आए सरकारमा नजाने भन्ने कुरै छैन ।”

ती सांसदले सरकारको विषयमा एक व्यक्तिले मात्र भनेर नहुने भन्दै पार्टीले आधिकारिक बैठक बसेर निर्णय गर्ने जानकारी दिए ।

गठबन्धनमा रास्वपा पनि थपिने संकेत मिलेपछि मन्त्रालय भागबण्डा पेचिलो बन्ने बुझाइ नेताहरूमा छ ।

गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेस पनि कसको नेतृत्वमा कति मन्त्रालय लिएर सरकारमा जाने भन्ने विषयमा स्पष्ट भइसकेको छैन ।

उपसभापति पूर्णबहादुर खड्का कांग्रेस कसको नेतृत्वमा कति मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छ भन्ने कुरामा सामान्य छलफलसमेत सुरु नभएको बताउँछन् ।

उनले उपराष्ट्रपति निर्वाचनपश्चात् प्रधानमन्त्रीले विश्वासको मत लिने र गठबन्धनभित्र सरकार बिस्तारको छलफल हुने जिकिर गर्छन् ।

“अहिले कुनै छलफल भएको छैन । पहिला उपराष्ट्रपति चुनाव सम्पन्न होस् अनि प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ । त्यसपछि स्वभाविक गठबन्धनभित्र सरकार बिस्तारको विषयमा छलफल हुन्छ,” उनले भने ।

गठबन्धनमा रहेका दलहरूमध्ये अधिकांश दल सरकारमा जाने निश्चित छ । नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाका नेताहरू भने यसविषयमा बोलेका छैनन् ।

एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल आफ्नो दल सरकारमा जाने बताउँछन् ।

“उपराष्ट्रपति चुनाव सकियोस् । प्रधानमन्त्रीले विश्वासको मत लिएपश्चात् सरकारको विषयमा छलफल गर्ने गठबन्धन दलभित्रको सहमति भएको छ,” उनले भने ।

सरकालाई समर्थन र विश्वासको मत दिए पनि पुस १० मै सरकारमा सहभागी नभएको दल हो जनता समाजवादी पार्टी । जसपाले शक्ति बाँडफाँटमा असन्तुष्टि जनाउँदै सरकारमा सहभागी भएको थिएन ।