सरकारले संघीय शिक्षा ऐन जारी गर्ने तयारी गर्दैछ: प्रधानमन्त्री प्रचण्ड

सोमबार, २९ फाल्गुन २०७९

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐन जारी गर्न सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।

सोमबार हीरक जयन्तीको अवसरमा काठमाडौंको पद्मोदय माध्यमिक विद्यालयमा सम्बोधन गर्दै संघीय शिक्षा ऐन जारी गर्न सरकारले आवश्यक तयारी गरिरहेको बताएका हुन्।

‘वर्तमान सरकार यथाशीघ्र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य गरिरहेको छ। उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको व्यहोरासमेत म यहाँहरूलाई अवगत गराउँछु,’ उनले भने।

सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको पनि उनले बताए।

सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरूयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व हाम्रासामु रहेको समेत उनले बताए ।