सत्यको संधै जित हुन्छ

मंगलबार, ३० फाल्गुन २०७९

काठमाडौं – एक राज्यमा अकबर नाम गरेका राजा बस्दथे । त्यो राज्यमा सबैले न्याय पाउँथे र अपराधीले दण्ड पनि पाउथे । अकबर राजालाई राम्रो सल्हाहा दिन एक जना मन्त्री थिए । ती मन्त्रीको नाम थियो बिरबल।

एक पटक, एक धनी व्यापारी राजा अकबरको दरबारमा मद्दत लिन आएछ । त्यो ब्यापारीको घरमा चोरी भएको रहेछ र उसलाई शंका रहेछ कि उसको अमूल्य सामान कुनै न कुनै एक नोकरले चोरेको हो। धेरै सोधपुछ र तलासी गर्दा पनि उसले आफ्नो सामान नभेटाएर चोर पत्ता लगाउनु पर्यो भन्दै सहयोग माग्न आएको रहेछ ।

सबै कुरा बुझेर बीरबलले एउटा चतुर योजना बनाए । र व्यापारीका नोकरहरुलाई बोलाए । उसले प्रत्येक नोकरलाई एउटै लम्बाइको एक–एक ओटा लाठी दियो । अनि उनले उनीहरुलाई भने, ‘तिमीहरुमै एक जना चोर छौ । मैले सबैलाई एउटै लम्बाईको लाठी दिएको छु। जसले त्यो सामान चोरेको हो, उसको लाठी भोलि दुइ इन्च बढ्नेछ। भोलि सबैको लाठी नाप्छु र चोर पत्ता लगाउँछु ।’

भोलिपल्ट बीरबलले नोकरहरुलाई फेरि बोलाए र पालै पालो लाठीको नाप लिए । उनले देखे कि एक नोकरको लाठी अरु सबैको लाठी भन्दा दुई इन्च छोटो थियो । मूर्ख चोरले, बिरबलले भनेको कुरा सत्य ठानेर, भोलि दुइ इन्च बढ्ला भनेर आफ्नो लाठीलाई दुई इन्च छोटो काटेको थियो ।

यसरी बिरबले चोर पत्ता लगाए र अकबर राजाले चोरलाई सहि सजाय दियो। तसर्थ, सत्य र न्यायको सधैं जित हुन्छ ।