राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको रक्षा गर्नेछुः रामसहायप्रसाद यादव

शुक्रबार, ३ चैत्र २०७९

काठमाडौं— उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवले राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको रक्षा गर्ने कुरा बताएका छन् ।

शुक्रबार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उपराष्ट्रपतिमा आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने बताएका हुन्। साथै उनले संविधानको पालना गर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राख्ने बताए। ‘संविधानमा राष्ट्रपति/उपराष्ट्रपतिको काम कारबाहीको बारेमा उल्लेख गरिएको छ। उनले भने, संविधानको पालना गर्ने कुरामा मेरो प्राथमिकता हुनेछ। नेपाललाई समतामुलक समृद्ध मुलुकको रुपमा विकसित गर्न मेरो भूमिका रहनेछ । म इमान्दारितापूर्वक जनताको पक्षमा काम गर्नेछु।’

उनले नेपाललाई समतामुलक समृद्ध मुलुकको रूपमा विकसित गर्न आफ्नो भूमिका रहने स्प्ष्ट पारे। उपराष्ट्रपति पदका उम्मेदवार यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दाबी गरे। १० दलीय गठबन्धनबाट जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपति पदमा उम्मेदवार छन्। ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो। अब हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरुले मत दिएर मलाई जिताउनु हुनेछ’, उनले भने।