हामीले प्रचण्डसँग बाध्यात्मक परिस्थितिमा सहकार्य गरेका हौंः महेश बर्तौला
काठमाडौं— नेकपा एमालेका नेता एवं संसदीय दलका सचेतक महेश बर्तौलाले प्रचण्डसँग बाध्यात्मक परिस्थितिमा सहकार्य गरेको कुरा बताएका छन् । उनले पुस १० को सहमतिमा प्रचण्डले एमालेलाई धोका दिएको आरोप लगाउँदै सो कुरा बताएका हुन् ।
उनले भने, ‘हामीले प्रचण्डसँग बाध्यात्मक परिस्थितिमा सहकार्य गरेका हौं । किनभने हामीसँग बहुमत थिएन । पुस १० मा प्रचण्ड हस्याङफस्याङ गर्दै बालकोट पुगेर गिडगिडाहट गर्नुभयो । तर एक महिना पनि नपुग्दै उहाँको अस्थिर चरित्र फेरि देखियो । लभ एमालेसँग गर्नुभयो, लिभिङ टुगेदर कांग्रेससँग बस्नुभयो । प्रधानमन्त्री हामीसँगको सहकार्यमा बन्नुभयो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा अरु नै गठबन्धन बनाउनुभयो । प्रचण्डको जालझेल, बेइमानी र सत्ताको दाउपेचका कारण सरकार अघि बढ्ने स्थिति भएन ।’
उनले संसद्को पहिलो र दोस्रो दललाई पन्छाएर तेस्रो वा चौथो दलले सरकारको नेतृत्व गर्नु लोकतन्त्रकै भद्दा मजाक भएको पनि बताए। संसद्मा रहेका दुई ठूला दल कांग्रेस र एमाले मिल्दा सरकार सजिलै बन्थ्यो । त्यसो हुन नसक्दा ३२ सिटे पार्टीले कहिले कांग्रेसको ढाडमा टेकेर एमालेलाई हिर्काउने, कहिले एमालेको ढाडमा टेकेर कांग्रेसलाई हिर्काउने गरिरहेको छ । पहिलो र दोस्रो शक्ति दुईचारवटा मन्त्रालय लिएर सरकारमा जाने अनि तेस्रो वा चौथो शक्तिले सरकारको नेतृत्व गर्ने कुरा लोकतन्त्रकै भद्दा मजाक हो । यसले मुलुकलाई स्थिरता दिन सक्दैन,’ बर्तौलाले भने । संसदका दुई ठूला शक्ति नेपाली कांग्रेस र एमालेले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि मिल्नुपर्ने कथाको मागे भएको उनले औल्याए ।
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बर्तौलाले औंल्याए । उनले भने, ‘हामी प्रमुख विपक्षीको बेन्चमा बसेका छौं । सरकारको काम कारबाहीको गुण र दोषका आधारमा रचनात्मक सहयोग र खबरदारी हुन्छ । तर एमालेले प्रचण्डलाई विश्वासको मत दिँदैन ।’