कांग्रेसद्वारा आफ्नै नेत्तृवमा सरकार बनाउने निर्णय

शुक्रबार, १० चैत्र २०७९

काठमाडौं— नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेशमा नयाँ गठबन्धनमा नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्रीको दाबी गरिरहेको बेला नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेर माओवादीलाई थप दबाब दिएको हो ।

संसदीय दलको शुक्रबार बिहान लुम्बिनीमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माणको प्रकृयालाई अगाडि बढाउने निर्णय गरेको सांसद तथा पूर्वमन्त्री दलबहादुर रानाले बताए । एमाले नेतृत्वको सरकारमा बसेको माओवादीलाई सरकारबाट बाहिर ल्याउन दबाब दिने उद्देश्यले कांग्रेसले यसरी निर्णय गरेको बताइएको छ । प्रदेशसभामा २७ सांसदका साथ दोस्रो स्थानमा रहेको छ ।

शुक्रबारको बैठकमा २३ जना सांसद उपस्थित थिए । कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले यसअघिकै गठबन्धनमा माओवादीले सरकारको नेतृत्व गरिसकेकाले प्रदेशको नेतृत्व स्वभाविकरूपमा कांग्रेसले पाउने बताएका छन् । तर, माओवादीले आफ्नो आधार इलाका भएकाले पनि यहाँको नेतृत्व सहज नछाड्नेगरी केन्द्रमा आफ्नो दाबी गरिरहेको छ । ‘शुक्रबार संसदीय दलको बैठक बसेर एकै विषयमा निर्णय गरेको छ, पार्टीको नेतृत्वमा सरकार बनाउने प्रकृया अगाडि बढाउने भन्ने नै हो तर त्यसका लागि अहिले एमाले नेतृत्वको सरकारमा रहेको माओवादीले सरकार छाडेर प्रकृया थाल्नुपर्दछ’, नेता रानाले भने ।

बिहीबार माओवादी संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने भनिएपनि आन्तरिक विवादका कारण त्यो विषयले बैठकमा प्रवेश नै नपाएपछि केन्द्रको नयाँ गठबन्धनमा रहेका अन्य दलहरू समेत अन्योलमा छन् । नयाँ गठबन्धनका साना दलले बिहीबार पहिले माओवादी सरकारबाट फिर्ता हुने निर्णय गरेपछि शुक्रबार कांग्रेसको बैठक बस्ने र साना दलको बैठक बसेर अगाडि बढ्ने योजना बनेपनि माओवादीमा विवाद बढेका कारण पूर्वयोजना सबै रोकिएको छ । माओवादीका १० सांसदमध्ये बहुमत सांसदहरू संसदीय दलका नेता जोखबहादुर महरालाई नै हटाउने गरी अगाडि बढेपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।