देशको अर्थतन्त्र आधा शताब्दी यताकै संकटपूर्ण अवस्थामा पुग्यो: विष्णु पौडेल
काठमाडौँ – पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा रहेको बताएका छन्।
पश्चिम नेपाल बस व्यवसायी प्रालीको बुटवलमा आयोजित साधारणसभालाई सम्बोधन गर्दै पौडेलले अहिले मुलुकको आर्थिक अवस्था ५० वर्षयताको सबैभन्दा चिन्ताजनक अवस्थामा पुगेको बताएका हुन् ।
मुलुकको आन्तरिक राजश्व अत्यन्त न्यून मात्रामा संकलन भइरहेको उल्लेख गर्दै उनले आन्तरिक राजश्वले संचालन खर्च समेत धान्न नसक्ने अवस्थामा रहेको बताए।
नेता पौडेलले अहिलेको जस्तो आर्थिक संकट २०२८ साल यता मुलुकले नबेहोरेको बताए।
‘राजश्व परिचालन र संकलनको अवस्था चालु आर्थिक वर्षमा पूरा नहुने मात्र होइन गत वर्षको भन्दा पनि उल्लेख्य मात्रामा कम राजश्व संकलन भएको छ।’, उनले भने, ‘यो अवस्था आधा शताब्दी पछिको सबैभन्दा निराशाजनक हो।’
छोटो अवधिको लागि तेस्रो पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेर फर्किएका पौडेलले राजस्व संकलन अत्यन्त न्युन मात्रामा संकलन भइरहेको र मुलुकको आर्थिक अवस्था जटिल र संकटपूर्ण रहेको बताए।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले सामान्य अवस्थामा जस्तो सत्तापक्ष र प्रतिपक्षको क्रियाप्रतिक्रिया जनाउने अवस्थामा मुलुक नभएको उल्लेख गर्दै अहिलेको जटिल अवस्थालाई सबै मिलेर पार लगाउनुपर्ने बताए।
‘विगतमा मुलुकको अर्थतन्त्र मजबुत बनाउन यातायात क्षेत्रको महत्वपुर्ण योगदान रहेको थियो, अहिलेको जटिल अवस्थामा पनि हरेक क्षेत्रले आ(आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ,’ उनले भने।