प्रदेशको नामकरणमा शत प्रतिशतको चित्त बुझाउन सकिएनः हिक्मत कार्की
काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको नामकरणमा शत प्रतिशतको चित्त बुझाउन नसकेको बताएका छन् । कार्कीले सबैको चित्त बुझाउन नसके पनि वार्ता र संवादबाट सो समस्या समाधान गर्ने बताए।
उनले अघिल्लो कार्यकालमै प्रदेशको नामकरण गर्नुपर्ने भए पनि अहिले आएर त्यो सम्भव भएकाले सबैलाई खुसी हुन आग्रह गरे । प्रदेशको नाम राख्दा सबैको चित्त नबुझे पनि सार्वभौम प्रदेशसभाले विधि र प्रक्रियाबाट नामकरण भएको मुख्यमन्त्रीको भनाई छ । उनले भने, ‘नामको विषयमा चित्त नबुझे पनि वार्ता र छलफलबाट समस्याहरू समाधान हुने विश्वास गरेको छु ।’ उनले विधि र प्रक्रिया पुर्याएर नामकरण भएको बताए ।
विराटनगरमा भएको संघ, प्रदेश, स्थानीय सरकारको प्रभावकारी समन्वय र स्थानीय सरकारको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा उनले संघीय सरकारले गरेको गल्ती कमजोरीको जवाफ प्रदेश सरकारले दिनु परेको बताए । उनले संघले कानून नबनाउने, कानून नहुँदा प्रदेशले गाली खानुपरेको बताए । उनले संघीय सरकारले प्रदेशलाई अधिकार नदिँदा प्रदेश खारेजीको माग उठेको बताए । उनले प्रशासनिक संघीयतामा प्रदेशहरूलाई अन्याय गरेको बताए । उनले संविधानका केही अनुसूचीका कारण प्रदेशमा काम गर्न समस्या भएको बताए ।