आगोको कुर्सीमा बसेर बाघको घोडा कुदाउदौ युगको परीक्षा दिँदैछौँः सुदन किराती

सोमबार, १३ चैत्र २०७९

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगोको कुर्सीमा बसेर बाघको घोडा कुदाउदौ युगको परीक्षा दिँदै आएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित ६२ औँ रंगमञ्च दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले सो कुरा बताएका हुन् ।

मन्त्री किरातीले भने, ‘म बस्ने कुर्सी आगोको कुर्सी हो, मैले कुदाउने घोडा बाघको घोडा हो हात्तिको होइन । हामी युगको परीक्षा दिँदैछौँ । व्यक्तिको होइन । हामी फेल भयौँ भने युग फेल हुन्छ । व्यवस्था फेल हुन्छ । हामीले बरु विदेशको धेरै कुरा गरेका छौँ, स्वदेशको कुरा गरेनौँ । स्थानीय सोचहरूलाई प्राथमिकता दिएनौँ । १२ कक्षा पढेपछि नेपाली विद्यार्थीहरू विदेश जान्छन्, किनभन्दा रोजगार छैन भनेर होला जस्तो लाग्थ्यो तर होइन रहेछ । हामी त बेरोजगार भएर मात्रै विदेश गएका होइन रहेछौँ, सुखपूर्ण जीवन छोडेर पनि विदेश जानुको कारण हाम्रो शिक्षामा विष परेको छ ।’ मन्त्री किरातीले नेपालमा स्वदेशी सपनालाई मर्न नदिने गरी काम हुन जरुरी रहेको बताए ।