बारामा भएको आगलागीमा परेर छ घर–गोठ जलेर नष्ट
काठमाडौँ— बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीमा परेर छ घर–गोठ जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट करिब रु १० लाख बराबरको क्षति भएको जानकारी दिए ।
रामप्रित हाजराको घुरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर–गोठ जलेर नष्ट भएको वडाध्यक्ष अरबिन्द मुखियाले जानकारी दिए । आगोले नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्री पूर्णरूपमा जलेका छन् । बिहान ३ बजेदेखि लागेको आगो एक घण्टापछि प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।