डा. राईद्वारा मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दलहरुलाई आग्रह

बिहिबार, १६ चैत्र २०७९

काठमाडौं— राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दलहरुलाई आग्रह गरेकी छन् ।

बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य डा. पौड्यालले सो कुरा बताएका हुन् । उनले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितहरुले भनेका भन्दै त्यसरी संरक्षण नगर्न आग्रह गरिन् । मिटरब्याजीहरुलाई दलका कार्यकर्ताले संरक्षण गरे, नगरेको विषयमा दलहरु बोल्नुपर्ने बताउँदै उनले दलहरुले आफ्ना मतदाता र समर्थकबाट मिटरब्याजीको संरक्षण हुन दिनु नहुने बताइन् । त्यसैगरी उनले मिटरब्याज पीडितहरुलाई खुलामञ्चमा बस्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

“खुल्लामञ्चमा बस्न दिइएन उहाँहरुलाई । खुल्लामञ्च काठमाडौंको मात्रै पेवा रहेछ । मधेसबाट आउने मधेशी महिलाहरुले त्यहाँ खुट्टा टेक्न नपाउने । कार्यदल बनाएको सरकारले भन्नेकुरा हामीले सुनेका छौँ,” उनले भनिन्, “कार्यदलले के गर्दै छ, यो कुरा एकदमै प्राथमिकतामा राखेर कानुन कहाँनिर संशोधन गर्नुपर्छ, कानुन संशोधन गर्नुप¥यो । मेरो विचारमा मिटरब्याजलाई संविधानले पनि चिन्दैन । अर्थतन्त्रले नि चिन्दैन । कानुनले पनि चिन्दैन । नचिन्ने मिटरब्याजी कहाँबाट आयो? हामीले किन त्यसलाई औपचारिकता दिइराखेका छौँ?” डा. पौड्यालले मिटरब्याज गैरकानुनी भएको भन्दै त्यसका विषयमा जनचेतना जघाउनुपर्ने बताए ।