शरतसिंह भण्डारीले स्याम्पेन फोडेर मनाए १२औं पटक मन्त्री बनेको हर्ष बढाई
काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट श्रममन्त्री नियुक्त भएका शरतसिंह भण्डारीले स्याम्पेन फोडेर बढाई मनाएका छन् । उनले मन्त्रीको कुर्सीमा १२औं पटक बसेको अवसरमा स्याम्पेन फोडेर बढाई मनाएका हुन् ।
भण्डारी मन्त्री नियुक्त भएपछि परिवारका सदस्य र निकट आफन्तहरूको उपस्थितिमा सेलिब्रेसन गरिएको थियो । मन्त्री भण्डारी र उनकी ‘प्रेमिका’ निर्जला राउतलाई आफन्तहरूले खादा र माला लगाएर अभिनन्दन गरे । त्यसक्रममा स्याम्पेन फोड्दै मन्त्री भण्डारीले स्याम्पेन फोडेरहर्ष बढाई गरेका हुन् । समारोहमा उपस्थितहरुले स्याम्पेनको घुट्को समेत लिएका थिए ।
प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद्मा लोसपाले एक सिट पाउँदा भण्डारी मन्त्री बनेका हुन् । यसअघि उनी ११ पटकसम्म विभिन्न दलबाट विभिन्न मन्त्रालय सम्हालिसकेका छन् । उनको मन्त्री पदको यात्रा भने पञ्चायतकालबाटै सुरू भएको हो । पहिलोपटक उनी २०४४ सालको फागुनमा मरिचमान सिंह श्रेष्ठको मन्त्रिपरिषद्मा पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्री बनेका थिए ।
४६ सालमा बहुदल आएपछि केही भण्डारीले विभिन्न पार्टी बदल्दै लगातार चुनाव जितिरहेका छन् भने मन्त्री पनि बनिरहेका छन् । सुरूमा कांग्रेसमा प्रवेश गरेका उनी त्यसपछि मधेसी जनअधिकार फोरम, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा), जनता समाजवादी पार्टी (जसपा) हुँदै अहिले लोसपामा पुगेका हुन् ।