‘जान्नेलाई छान्ने’ नीतिअनुसार यसपालि वाग्लेलाई अघि सारियोः लामिछाने

मंगलबार, २१ चैत्र २०७९

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘जान्नेलाई छान्ने’ नीतिअन्तर्गत यसपालि तनहुँ १ मा उपनिर्वाचन लड्न पार्टीले स्वर्णिम वाग्लेलाई अघि सारेको बताएका छन्।

तनहुँमा सोमबार भएको कार्यक्रममा बोल्दै लामिछानेले सो कुरा बताएका हुन् । उनले स्वर्णिम यही माटोमा हुर्किएकाले उनलाई पाहुना भन्न नमिल्ने बताए । संसारका कयौं देशको अर्थतन्त्र बिग्रँदा सल्लाह लिन बोलाउने स्वर्णिम वाग्ले त्यो देशका लागि पाहुना नहुने, सम्मानित मानिस हुने यही माटोको सुगन्धबाट हुर्किएको स्वर्णिम पाहुना हुन्छ? हुँदैन। कुनै हालतमा हुँदैन,’ लामिछानेले भने।

यसअघि तनहुँमै सोमबार बोलेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँका मतदाताले घुम्दैघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई मत दिनौं भन्नुपर्ने बताएका थिए। थापाले स्वर्णिमलाई लक्षित गर्दै उक्त कुरा बताए पछि लामिछानेले जवाफ दिएका हुन्। लामिछानेले स्वर्णिमलाई कुनै एक जिल्लामा भन्दा पनि देशले नै छानेको सक्षम उम्मेदवार भनेका थिए। ‘उहाँ यो देशले छानेको उम्मेदवार हो। एक व्यक्ति सक्षम हुँदा देशले मुहार फेर्छ,’ उनले भने लामिछानेले नयाँ वर्षमा क्यालेन्डर मात्र नभई भाग्य समेत फेरिने दाबी गरेका थिए।

‘तपाईंको घरको भित्तामा २०८० सालमा क्यालेन्डर त फेरिँदैछ तर अघिपछिजस्तो होइन। यसपटक क्यालेन्डर फेरिँदा यो देशको भाग्य पनि फेरिने वाला छ,’ उनले भने, ‘यो देशको भाग्य फेर्नका लागि जान्नेलाई छान्ने नीतिअन्तर्गत देश निर्माण गर्न जान्ने मानिस खोजेका छौं।’ उनले आफूहरूका सांसदले संसदमा परिवर्तनको घन्टी बजाइ सकेको समेत बताएका थिए।