लडाइँमा दुवै खुट्टा गुमाएका हरि बुढामगर कृतिम खुट्टाबाट सगरमाथा चढ्न आधार शिविरतर्फ हिडे

बुधबार, २२ चैत्र २०७९

काठमाडौँ – पूर्व गोरखा सैनिक हरि बुढा मगर कृतिम खुट्टाबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा  चढ्न आधार शिविरतर्फ हिडेका छन् ।

सारीरिक रुपमा असक्त दुवै खुट्टा नभएका उनी कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा चढ्न बुधवार  त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ हिडेका  हुन् ।

उनी कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति समेत हुन् ।

सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानु भन्दाअघि उनले ५ वर्षको पखाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुसी लागेको बताए । उनले आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीहरूलाई खुसी दिने विश्वास व्यक्त गरे ।

उनले शारीरिक अशक्त भएका व्यक्तिहरू कोही भन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्त्वपूर्ण रहेको बताए । उनले आफ्नो लागि सगरमाथा आरोहणको समय २ महिनाको हुने बताए ।

सन् २०१० मा अफगानिस्तानको लडाइँमा उनले दुवै खुट्टा गुमाएका थिए । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन् । बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन् ।