तपाईँहरू ढुक्क भए हुन्छ यो गठबन्धन पाँच वर्ष कायम रहन्छः माधव नेपाल
काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्पूर्ण नेपालीलाई पाँच वर्षसम्म यो गठबन्धन कायम रहने दाबी गर्दै यो कुरामा ढुक्क हुन पनि आग्रह गरेका छन् ।
बुधबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । ‘तपाईँहरू ढुक्क भए हुन्छ यो गठबन्धन पाँच वर्ष कायम रहन्छ’, अध्यक्ष नेपालले भने, ‘कसैकसैले पद बाँडबाफाँट त कसैले लुट अभियान चलाउन यी पार्टीहरु मिलेका हुन् भनेका छन् । यो चुनौति हामीमाथि छ ।’
अध्यक्ष नेपालले कतिपय पदको भागबण्डा र लुट मच्चाउन गठबन्धन बनेको भनेर आरोप लगाउने गरेपनि इमानदारितासाथ काम गर्दै अघि बढे सबै संकटहरु समाधान गरेर अघि बढ्न सकिने बताए । उनले सत्ता गठबन्धनको पहिलो कर्तव्य संविधानको रक्षा गर्नु रहेको भन्दै संविधानको रक्षा गर्दै सुशासन, शान्ति र सम्मृद्धिका पक्षमा काम गर्न सक्नुपर्ने बताए । उनले सरकारले जनपक्षीय काम गर्नसके र जनताका पीरमार्का सम्बोधन गर्न सके गठबन्धनमाथिका आशंका हटेर जाने बताए ।
नेपालले ले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेपनि त्यसलाई सुधार गर्न सकिने बताए । ‘देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको छ । यो नेपालको मात्रै होइन, विश्वकै संकटमा छ । यसलाई कसरी संकटमुक्त गर्ने त्यसका लागि हामीले कस्ता नीति अवलम्बन गर्ने त्यसमा विशाल चिन्तन मनन गर्नुपर्छ’, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले अर्थतन्त्रको सुधारका लागि आफूहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गरेको बताए ।