कालिञ्चोकमा भेटियो मानव कंकाल

बिहिबार, २३ चैत्र २०७९

काठमाडौं— दोलखाको कालिञ्चोक गाउँपालिका १ स्थित भैसे पात्लेखोलामा मानव कंकाल भेटिएको छ । पात्लेखोलामा फेला परेको शव सडेगलेको अवस्थामा कपडा र हड्डी केही भाग मात्रै देखिएको छ ।

स्थानीयले वडाध्यक्ष पदमबहादुर थामीलाई सो स्थानमा मङगलबार दिउँसो मालिङ्गो काट्न जाने क्रममा करिब १ बजे मानव कङ्काल भेटिएको खबर गरेका थिए । वडाध्यक्ष थामीले विगु चौकी, सिङगटी चैकी र चरिकोट प्रहरी चौकीमा खबर गरेको बताए । वडाध्यक्ष थामीले बुधबार बिहान करिब ८ बजे चरिकोट प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर शव पोस्टमार्टमको लागि सदरमुकाम चरिकोट पठाएको बताएका छन् । उक्त शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ।