वरिष्ठ पत्रकार किशोर नेपाललाई ‘आदर्श पत्रकारिता पुरस्कार’ प्रदान

बिहिबार, २३ चैत्र २०७९

काठमाडौं— नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले वरिष्ठ पत्रकार तथा पत्रकार महासंघ केन्द्रीय समितिका पूर्वअध्यक्ष किशोर नेपाललाई आदर्श पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।सो पुरस्कार १ लाख १ हजार १११ रुपैयाँ राशीको पुरस्कार रहेको छ ।

शाखाको बिहीबार बसेको कार्यसमितिको बैठकले आगामी शनिबार हुने शाखाको २३ औं साधारणसभामा शाखाका संस्थापक अध्यक्षसमेत रहेका नेपाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेका हुन् । महासंघ काठमाडौ शाखाका सचिव महेश्वर गौतमले काठमाडौ शाखाको शंखरापुर नगरपालिकामा गत ३ र ४ चैतमा बसेको बैठकले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको र बिहीबारको कार्यसमिति बैठकले सो पुरस्कार शाखाका संस्थापक अध्यक्ष नेपाललाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिए । सो पुरस्कार आगामी शनिबार हुने शाखाको २३ औं साधारणसभामा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माको हातबाट प्रदान गरिनेछ ।