उडिरहेको बुद्ध एयरको जहाजभित्रै कुटाकुट
काठमाडौं – बुद्ध एयरको जहाजमा दुई यात्रुबीच कुटाकुट भएको छ ।
बुधबार बेलुका ४ बजेर ३० मिनेटमा विराटनगरबाट काठमाडौंका लागि उडेको फ्लाइट नम्बर ७१० मा दुई यात्रुबीच कुटाकुट भएको हो । उनीहरु चिनजानकै व्यक्ति थिए ।
पारिवारिक कुरामा विवाद भएको र विवादले चर्को रुप लिँदा हात हालाहाल भएको बुझिएको छ । जुन् भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ ।
उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि बुद्ध एयरले ती दुई यात्रुलाई काठमाडौंस्थित विमानस्थलको सुरक्षा निकायलाई जिम्मा लगाएको छ ।
विमानस्थल सुरक्षा निकायले ती यात्रुलाई थप कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशालालाई बुझाएको छ । अहिले ती यात्रुहरु प्रहरी वृत्त गौशालामा राखिएको छ ।
बुद्ध एयरले घटनाको बारेमा बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएको थियो ।