सरकारबारे केन्द्रीय गठबन्धनले छिट्टै निर्णय लिन्छः जनार्दन शर्मा

शुक्रबार, २४ चैत्र २०७९

काठमाडौं— नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेश सरकारबारे केन्द्रीय गठबन्धनले छिट्टै निर्णय लिने बताएका छन् ।

शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता शर्माले सो कुरा बताएका हुन् । उनले प्रदेशमा देखिएका उल्झन केन्द्रीय गठबन्धनले सुल्झाउने र कर्णाली प्रदेश सरकारमा कांग्रेससँग नै सहकार्य हुने पनि बताए । शर्माले मन्त्रिपरिषद पुनर्गठनबारे नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीसँग पनि छलफल गरेको बताए । ‘केन्द्रको गठबन्धन अनुसार नै कर्णाली सरकारलाई नयाँ दिशा दिनुपर्ने आवश्यकता छ,’ शर्माले भने, ‘मैले आज बिहान मात्रै जीवनबहादुर शाही जीसँग पनि मिटिङ गरेँ । प्रारम्भिक छलफलमा छिट्टै नयाँ स्वरूप दिने गरी सहमति भएको छ ।’

पुस १० को सहमति अनुसार कर्णालीमा अहिले पनि एमाले–माओवादी गठबन्धनको सरकार छ । गएको हप्ता मुख्यमन्त्रीले विश्वासको मत लिँदा एमालेले शर्माको पक्षमा भोट हालेको थियो । निर्वाचन अघि माओवादी अध्यक्ष प्रचण्डले मुख्यमन्त्रीका लागि कांग्रेसलाई बचन दिएको भन्नेबारे पत्रकारको प्रश्नमा नेता शर्माले कर्णालीमा माओवादी नेतृत्वकै सरकारले निरन्तरता पाउने बताए । ‘कर्णालीको सन्दर्भमा हाम्रै सरकार हुन्छ । गठबन्धनका अन्य दलहरू सरकारमा सहभागी हुन्छन् । यसको निर्णय केन्द्रीय गठबन्धनले नै गर्छ’ शर्माले भने । नेता शर्माले माओवादीकै एजेण्डामा देश अघि बढे पनि पार्टी कमजोर हुनुलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । ‘मैले यो पटक भोट माग्दा नै पार्टी संगठनको काममा लाग्ने र मन्त्री नबन्ने वाचा गरेको छु । अब पार्टी संगठन निर्माणमा लाग्छु,’ शर्माले भने ।