एभरेष्ट बैंकबाट हरायो ग्राहकको लाखौं रुपैयाँ, नक्कली नोटकोसमेत कारोबार
काठमाडौं – भारती बैंकको प्रत्यक्ष लगानी रहेको एभरेष्ट बैंकबाट ग्राहकको ७ लाख रुपैयाँ हराएको छ । भारतीय पंजाव नेशनल बैंकको शाखाका रुपमा स्थापना भएको एभरेष्ट बैंकबाट स्याङ्जाकी रेखा गुरुङको ७ लाख रुपैयाँ हराएको हो ।
बैंकले एउटा खाताबाट अर्को खातामा रकम ट्रान्फर गर्दा रेखाको ७ लाख रुपैयाँ गायव पारिदिएको थियो । रेखाले जापानमा रहदा कमाएर पठाएको रकम अर्को खातामा ट्रान्फर गर्दा बैंकले ७ लाख रुपैयाँ गायव पारेको थियो ।
बैंकमा ४/५ दिनसम्म पनि पैसा हराएको विषयमा धाउँदा पनि बैंकले रकम फिर्ता गर्न अटेरी गरेपछि गुरुङ मिडियामा आएकी थिइन् । बैंकले मिडियाको दवाव पछि उक्त रकम फिर्ता गरिदिएको छ । बैंकले २ लाख रुपैयाँ एउटाको खातामा र ५ लाख रुपैयाँ अर्का एक व्यक्तिको खातामा पठाएर रकम खान खोजेको पीडित गुरुङको भनाई छ ।
‘मलाई बैंकका कर्मचारीले सोझो देखेर मेरो पैसा खान खोजेका थिए ।’, उनले भनिन्, ‘टिकटकमा पैसा हराएको भिडियो सार्वजनिक भएपछि उहाँहरुले फिर्ता गरिदिनुभयो । मैले ४/५ दिनसम्म बैंकमा धाउँदा पनि फिर्ता नगरेको बैंकले टिकटकमा भिडियो आउने वित्तीकै पैसा पठाइदिएको छ । माफी पनि मागेको छ ।’
‘मलाई अरु बैंक भन्दा एभरेष्ट बैंक विश्वासनिय लागेर मैले खाता खोलेको थिए । जापान गएपछि यो बैंक राम्रो छ भनेर साथीहरुलाई पनि खाता खोल्न लगाएँ ।’, उनले भनिन्, ‘अहिले म आफै पीडित भएँ । यो बैंक त लुटेरा रहेछ । ४/५ दिनसम्म अनावश्यक दुःख पाँए । अब बरु खाडल खनेर पैसा राख्छु तर एभरेष्ट बैंकमा भने जिन्दगीभर पैसा राख्दिन । अरुलाई पनि पैसा नराख्न सल्लाह दिन्छु ।’
बैंकले कर्मचारीको बदमासीका कारण पैसा गायव भएको स्पष्ट पारेको छ । ‘म यस विषयमा के भएको हो भनेर तपाईंलाई आइतबार मात्र भन्न सक्छु । हामीले बदमासी गर्ने कर्मचारीलाई प्रहरीकोमा बुझाएर अनुसन्धान गरिरहेका छौँ ।’, बैंकका मार्केटिङ तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतिले भने, ‘हामी अनुसन्धान सकिएपछि पत्रकार सम्मेलन गरेर तपाईँलाई जानकारी गराउँछौं ।’
उनले बदमासी गर्ने कर्मचारीको बारेमा जानकारी दिन नमिल्ने बताए । ‘कसले बदमासी गरेको हो भनेर हामी पत्रकार सम्मेलन गरेरै जानकारी गराउँछौं । प्रहरीले पनि सार्वजनिक गर्ला ।’, उनले भने, ‘हामीले बदमासी गर्ने कर्मचारीलाई बैंककै गाडीमा राखेर प्रहरीलाई बुझाएका छौँ । आइतबारसम्म यसको अनुसन्धान सकिन्छ की भन्ने हाम्रो विश्लेषण छ । यो विषय लुकाएर बैंकलाई राम्रो हुँदैन । हामी सार्वजनिक गछौं ।’
त्यस्तै, बैंकले नक्कली नोटको समेत कारोबार गर्ने गरेको पाइएको छ । ग्राहकले बैंकबाट निकालेको लाखको गड्डीमा नक्कली नोट भेटिएपछि नक्कली नोटको समेत कारोबार गर्ने गरेको पाइएको हो । एक ग्राहकले १ लाख ९५ हजार रुपैयाँ निकाल्दा एउटा हजारको नोट नक्कली भेटिएको थियो ।