बालेनले भने, प्रहरीले नै बाटो मिचेर संरचना बनाएको छ हटाउनुहोला नत्र हामी बाध्य हुनेछौं
काठमाडौं – कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेको महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमा महानगर क्षेत्रमा सडक मिचेर बनाइएका प्रहरी बिटका तस्बिरहरू हालेर शाहले सडकपेटी मिचेर प्रहरीले नै संरचना बनाएकोले हटाउन अनुरोध गर्दै नहटाए आफैंले हटाउँन बाध्य हुने चेतावनी दिएका हुन्।
फुटपाथमा पैदलयात्री हिँड्नको लागि प्रयोग हुनुपर्ने भन्दै व्यापार गर्न पनि रोकेको र यो नियम सर्वसाधरणका लागि मात्रै नभएको पनि उनले बताए।
‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ। त्यो संरचना प्रहरी आफैंले हटाउनुहोला। नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउँन बाध्य हुनेछौं,’ उनले भनेका छन्।
यस्तै राजदूतावास लगायत विदेशी नियोगले पनि विभिन्न ठाउँमा सडकपेटी मिचेको भन्दै मन्त्रालयलाई काम अघि बढाउन पत्राचार पनि गरेको बताए।
‘कानुन सर्वसाधरण नागरिकका लागि र अरूका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनुपर्छ। तयार बनौं,’ उनले भने।
