बालेनले नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ, भनेपछि एमाले महासचिव पोखरेल रिसले चुर

शनिबार, २५ चैत्र २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट सिंहदरबारको फोहोर उठ्दैन साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ, भन्ने अभिव्यक्तिप्रति नेकपा एमालेका महासचिव शंकर पोखरेल रिसले चुर हुँदै आपत्ति जनाएका छन्।

शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै पोखरेलले उनको अभिव्यक्तिले समाजलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको भन्दै शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

बिहान मेयर शाहले सिंहदरबारको फोहोर नउठाउने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए।

‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ,’ उनले लेखेका थिए।

त्यसको जवाफमा जिम्मेवारी सम्हालेर बसेका व्यक्ति जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताएका हुन्।

‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ। जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ,’ उनले लेखेका छन्।