राष्ट्रपतिले नागरिकताविहिनहरुलाई नागरिकता दिने कानूनी प्रबन्ध गर्नुपर्छः खाण
काठमाडौं— सत्तारुढ नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति रामचन्द्र पौडेलसँग नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेर नागरिकताविहिनहरुलाई नागरिकता दिने कानूनी प्रबन्ध गर्नुपर्ने आग्रह गरेका छन् ।
आइतबार नेपाल प्रेस युनियन, धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाणले सो कुरा बताएका हुन् । उनले विधेयक प्रमाणीकरणका लागि आवश्यक वातावरण बनाउन सरकार र राजनीतिक पार्टीहरूको पनि ध्यानाकर्षण गराए ।
नेता खाणले भने, ‘अनागरिकलाई पनि नागरिकता दिने गरी राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयक स्वीकृत गर्नका लागि, प्रमाणीकरण गर्नका लागि म यो जनकपुरको नेपाली कांग्रेसको प्रदेश कार्यालयबाट सम्पूर्ण राजनीतिक पार्टीहरूलाई आग्रह गर्दछु– त्यो वातावरण गराउनुहोस् । र, सरकारले, राजनीतिक दलहरुले सम्माननीय राष्ट्रपतिसँग आग्रह गरेर त्यो नागरिकता विधेयकलाई प्रमाणीकरण गरियोस् । र, ती नेपाली नागरिक, जसले नागरिकता प्राप्त गर्न सकेका छैनन् कानूनको अभावमा । उनीहरूलाई नागरिकता दिने काममा थालनी होस् भन्ने म आग्रह गर्न चाहन्छु ।’