तनहुँ १ की राप्रपा उम्मेदवार गुरुङलाई उच्च अदालतले गर्यो चेक बाउन्सर ठहर

आइतबार, २६ चैत्र २०७९

काठमाडौं – तनहुँ (१) को उपनिर्वाचनमा राप्रपाकी उम्मेदवार शोभा गुरुङलाइ उच्च अदालतले चेक बाउन्सर ठहर गरेको छ।  उच्च अदालत पाटनले आइतबार गुरुङलाई खातामा पर्याप्त रकम नभई चेक काटेको मुद्दामा चेक बाउन्सरको दोषी ठहर गर्दै ३ दिन कैद सजाय सुनाएको हो ।

न्यायाधीशहरु ऋषिराम दवाडी र राजेन्द्र खरेलको इजलासले उनलाई दोषी ठहर गर्दै जाहेरीकर्ता लक्ष्मी कुमारी लिम्बुलाई १० लाख रुपैयाँ भराउने आदेश गरेको हो । उच्च अदालतले उनीमाथि १० लाख रुपैयाँ जरिवाना तिराउने आदेश गरेको छ । अनि थप ४० हजार रुपैयाँ क्षतिपूर्ति कोषमा तिराउने आदेशसमेत गरेको छ । यो फैसला विरुद्ध गुरुङले सर्वोच्च अदालतमा पुनरावेदन दिन पाउछिन् ।

निर्वाचन आयोगका सहसचिव यज्ञ भट्टराईले कुनै मुद्दा अन्तिम अदालतबाट फैसला नभएसम्म व्यक्ति दोषी ठहर भएकै आधारमा उम्मेदवारीबाट वञ्चित नहुने प्रतिक्रिया दिए ।उनले भने, ‘फैसला अन्तिम भइसकेको वा त्यो मुद्दा हेर्ने अन्तिम अदालतबाट फैसला हुँदा दोषी ठहर भएको अवस्थामा तोकिएका मुद्दाका कसुरदार मात्रै निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने हुन् । फैसला अन्तिम नभएको अवस्थामा उम्मेदवारी बदर हुदैन ।’