बालेनको आरोप पछि उपप्रधान श्रेष्ठले फर्काए मुखभरीको जवाफ

सोमबार, २७ चैत्र २०७९

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई मुख भरीको जवाफ फर्काएका छन् । मेयरशाहले महानगरलाई संघीय सरकारले सहयोग गरेको आरोप लगाएपछि श्रेष्ठले औचित्य पुष्टि हुने गरी तथ्यगत रूपमा आए सबैसँग समन्वय हुने बताएका हुन् ।

अहिले सिंहदरबारको फोहोर महानगरले उठाउन छाडेको छ । मेयर शाहले संघीय सरकारको समन्वयकारी भूमिका नदेखिएकाले फोहोर नउठेको बताएका छन् । सोमबार बिहान चितवन पुगेका उपप्रधानमन्त्री श्रेष्ठले शाहको सोही अभिव्यक्तिको जवाफ दिएका हुन् । श्रेष्ठले प्रक्रियागत रूपमा आए सरकारले समन्वय गर्ने बताए ।

उनले भने, ‘प्रदेश सरकार र स्थानीय सरकारमा समन्वय गरेर संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न संघीय सरकार मद्दत गर्न प्रतिबद्ध छ । स्थानीय वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न अनुरोध मात्र गर्ने जानकारी दिएर त हुँदैन। यसबारे महानगर मेयरलाई प्रष्ट भनेको छु । तपाईँले गर्न खोजेको कामको औचित्य पुष्टि हुने गरी अलिकति निष्कर्षमा त पुग्न पर्‍यो नि।’ स्थानीय सरकार आफैले गर्न सक्ने काम भए संघीय सकारले हस्तक्षेप नगर्ने तर सहयोग चाहिए प्रक्रियागत रूपमा आउनुपर्ने उनले बताए ।