राष्ट्रपति कार्यालयले गर्यो फोहोर उठाइदिन अनुरोध

सोमबार, २७ चैत्र २०७९

काठमाडौं— राष्ट्रपति कार्यालयले सोमबार बिहान फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन गरेर फोहोर उठाइदिन अनुरोध गरेको छ ।

शीतल निवास र त्यस वरपरको क्षेत्रबाट फोहोर संकलन गर्दै आएको परिवर्तन सेवा प्रालिलाई शीतल निवासले टेलिफोन गरेर फोहोर उठाइदिन भनेको हो ।तर फोहोरमैला उठाएर बञ्चरेडाँडामा लैजानुपर्ने भएकाले त्यहाँ महानगरले नलैजान निर्देशन दिएकाले फोहोर नउठाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्रप्रसाद घिमिरेले बताए । ‘हामीलाई फोहोर उठाउन राष्ट्रपति कार्यालयबाट फोन आए पनि फोहोर नउठाउनु भन्ने महानगरका मेयरको निर्देशनले उठाएका छैनौं,’ सञ्चालक घिमिरेले भने ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारबाट फोहोर नउठाउन निर्देशन दिएपछि अहिले प्रधानमन्त्री कार्यालयसहित सिंहदरबारभित्रका कार्यालयबाट पनि फोहोर उठेको छैन । फोहोरमैला व्यवस्थापन संघका अनुसार सरकारी कार्यालयबाट दैनिक करिब ९ टन फोहोर संकलन हुन्छ । महानगरपालिकाले फोहोर नउठाउन दिएको निर्देशन कायम भएसम्म फोहोर नउठ्ने संघले जनाएको छ ।