भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्नु आपत्तिजनक: रघुजी पन्त

सोमबार, २७ चैत्र २०७९

काठमाडौं— नेकपा एमालेका सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आउनु आपत्तिजनक भएको बताएका छन् । उनले यसले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको पनि बताए।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले सो कुरा बताएका हुन् । पन्तले नेपालमा प्रवेश गरेको भनिएका सिंहलाई नेपालको सुरक्षा निकायले पत्ता लगाउन नसकेपछि बाँकेको जमुनाह नाका भएर भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्नु आपत्तिजनक भएको बताए । कुनै पनि बाह्य देशका सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपालभित्र पसेर यसरी खोजबिन गर्ने अधिकार दिएको छैन । नेपाल स्वतन्त्र सार्वभौम देश हो, यसले आफ्नो आत्मनिर्णयको अधिकार आफैँ प्रयोग गर्छ’ उनले भने । सांसद पन्तले नेपाल–भारत खुला सिमाना अपराधको अखडा भएको भन्दै सीमा नियन्त्रण गर्ने र बाह्य हस्तक्षेप रोक्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बर्दिया जिल्लामा बाघको आक्रमणबाट स्थानीयमा बढिरहेको असुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराए । उनले बाघ संरक्षणबारे स्पष्ट नीति र स्थानीयको सुरक्षाको माग गरे । ‘बर्दिया जिल्लामा बाघले मान्छेलाई आक्रमण गर्नेक्रम रोकिएको छैन । वन्यजन्तु संरक्षण सुरु भएयता संरक्षणकर्मी, सुरक्षाकर्मी र सर्वसाधारण गरी चार सय ५० बढीले ज्यान गुमाइसकेका छन्’ उनले भने ।