रास्वपा सांसद ढाकाले अझै बुझाएनन् स्पष्टीकरण, जवाफ दिनलाई थप समयको माग

सोमबार, २७ चैत्र २०७९

काठमाडौं— अडिओ प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले दिएको समयभित्र लिखित स्पष्टीकरण बुझाएनन् । उनले आज दिउँसो ३ बजेसम्ममा स्पष्टीकरण दिइसक्नु पर्ने भएपनि आफू वकिलहरूसँग रहेको भन्दै स्पष्टीकरणको जवाफ दिन थप समय मागेका छन् ।

व्यवसायी दुर्गा प्रसाईंसँगको फोन सम्वादका विषय रास्वपाको अनुशासन समितिले २४ घन्टाको समय दिएर हिजो तीन बजे श्रेष्ठलाई स्पष्टीकरण सोधेको थियो । तोकिएको समयमा स्पष्टीकरण नदिएका थापाले समितिका संयोजक भरत देवकोटालाई फोन गरेका थिए । देवकोटासँगको मौखिक कुराकानीमा श्रेष्ठले आफूमाथि लागेको आरोप अझै स्वीकार गरेका छैनन् । आफ्नो आवाजलाई सम्पादन गरेर अडिओ बनाइएको र आफूलाई अन्यायमा परेको उनले दाबी गरेका थिए ।

उनि छानबिनबाट आफू निर्दोष ठहरिन सक्ने सम्भावना कमजोर देखेर, राजीनामानै दिने मनस्थितिमा पुगेको बताइएको छ । यद्यपि, अन्तिम निर्णय लिइसकेका छैनन् । यता अनुशासन समितिले भने सार्वजनिक भएको अडिओलाई फरेन्सिक टेस्टका लागि पठाउने तयारी गरेको छ । संयोजक देवकोटाले यस विषयमा नेपाल प्रहरीसँग कुराकानी भइरहेको जानकारी दिए । रास्वपाको अनुशासन समितिले ढाकामाथि छानबिनका लागि तीन दिनको मात्रै समय पाएको छ । पार्टी सभापति रवि लामिछानेले हिजो चितवनमा भाषण गर्दै यदि ७० घण्टाभित्र छानबिन गरेर कारबाही गर्न नसके आफूलाई गढीमाईमा बलि दिन चुनौती दिएका छन् । सभापतिको सो भाषणका कारण पनि समिति हतारमा छ ।