बैशाख १ गतेदेखि सूर्तीजन्य पदार्थ सेवन गर्न रोक्ने
काठमाडौँ – विराटनगर महानगरपालिकाले महानगरपालिकाभित्र सूर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने भएको छ ।
आगामी बैशाख १ गतेदेखि महानगरले सार्वजनिक स्थलहरुमा सूर्तीजन्य पदार्थ सेवनमा रोक लगाउने भएको हो । नगरप्रमुख नागेश कोइरालाले गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन समेत निषेध गर्न लागिएको जानकारी दिएका हुन् ।
उनका अनुसार ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको हो ।
‘बैशाख १ गतेबाट महानगरले सार्वजनिक स्थानमा पान, गुट्खा, खैनी, चुरोटको सेवनलाई बन्द गर्न लागेको हो,’ नगर प्रमुखले भने, ‘यसका साथै ध्वनि प्रदूषण नियन्त्रणका लागि महानगरले सवारी साधनको प्रेसर हर्न बजाउन समेतमा निषेध गर्न लागेको हो ।’
सूर्तीजन्य पदार्थको सेवन गरी जथाभावी थुक्ने वा फाल्ने गरिएकाले यस्तो निर्णय गरेको महानगरले जनाएको छ । महानगरलाई व्यवस्थित र सभ्य सहर बनाउन अघि सारेको यो अभियानमा सबैको साथ रहने नगर प्रमुख कोइरालाले विश्वास रहेको बताए ।