कोसी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक
काठमाडौं— कोसी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सरकारले सार्वजनिक गरेको छ ।
सरकारले आफ्नो आधिकारिक वेबसाइटमार्फत मन्त्रिपरिषद् गठन भएको चार महिनापछि सम्पत्ति विवरण सार्वजनिक गरेको हो । जसअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तीनवटा नगरपालिकामा तीनवटा घर, जग्गाजमिन, सेयर, सुन तथा गरगहना भएको जनाइएको छ । विवरणअनुसार कार्कीको ललितपुर र झापामा तीनवटा घर छ । ललितपुरमा थप दुई घडेरी छ । झापाको गौरादह–१ मा दाजुसँग सगोलमा एक कट्ठा १० धुरमा बनेको दुई तल्ले पक्की घर छ । गौरादह–३ मा दाजु दीपक कार्कीसहित दुवै दाजुभाइको नाममा तीन कट्ठामा बनेको पक्की घर र टहरा छ । श्रीमती अन्जना पाण्डेको नाममा ललितपुरको महालक्ष्मी नगरपालिकामा घरजग्गा छ ।
यो खरिद गर्दा ९० लाख ऋण लिएको प्रकाशित विवरणमा उल्लेख गरेका छन् । ललितपुर महालक्ष्मी नगरपालिका–४ मै मुख्यमन्त्री कार्कीकी श्रीमतीको नाममा एक करोड ४० लाखमा किनेको २३२ र २८६ वर्ग मिटरका दुईवटा जग्गा छन् । श्रीमती अन्जना पाण्डे कार्कीको नाममा लिभरपुल एजुकेसन नेटवर्क प्रा।लि। मा २१ लाख ३८ हजार ७००, मुख्यमन्त्री कार्कीको नाममा ड्रिमल्याण्ड हाउजिङमा १० लाख र सहिद मेमोरियल अस्पतालमा एक लाख ५० हजार रुपैयाँको सेयर र विवाहको समयमा खरिद गरेको र प्राप्त गरेका ६ तोला सुन र १० तोला चाँदी पनि मुख्यमन्त्रीसँग भएको उल्लेख छ ।
मुख्यमन्त्री कार्कीसँग २३ लाखमा ऋण लिएर खरिद गरेको २०१२ मोडलको सेन्ट्रो कार छ । झापामा गौरादह कृषि तथा पशुपक्षी विकास फार्म तीन लाखमा २०७३ सालमा स्थापना गरेर सञ्चालित छ । पर्यटन, वन तथा वातावरणमन्त्री जीवन आचार्यसँग ललितपुर र विराटनगरमा दुई घर र जग्गाजमिन छ । मन्त्री आचार्यको नाममा ललितपुरको सुनाकोठी ९ (क) को ७०४ कित्ता नम्बरमा ९ आना र १२८१ कित्ता नम्बरमा १ आना २ पैसा जग्गा छ । त्यो जग्गामा साढे दुई तले पक्की घर छ । यता, विराटनगर महानगरपालिका वडा नम्बर १ ९ख० ३१७८ कित्ता नम्बरमा १५ धुर जग्गामा साढे दुई तले पक्की घर छ ।
मोरङको साविक हात्तीमुढा गाउँपालिका वडा नम्बर ४ मा व्यावसायिक आम्दानीमार्फत २६३० वर्ग मिटर जग्गा खरिद गरेको, साविक हात्तीमुढा २ नम्बर वडामा १९४७ वर्ग मिटर जग्गा रहेको विवरणमा उल्लेख छ । व्यवसायिक आम्दानी स्रोत राखेर उनले हात्तीमुढाकै २ ९क० मा २०३१.७१ वर्ग मिटर जग्गा तीन लाखमा खरिद गरेको उल्लेख गरेका छन् । मन्त्री आचार्यसँग २० तोला सुन र ५० तोला चाँदी रहेको छ । ललितपुर र विराटनगरको घर उनले पैतृक र व्यवसायीक सम्पत्तिबाट खरिद गरेको जनाएका छन् । आचार्यसँग ४५ लाख बैंक मौज्दात रहेको छ । उनीसँग विभिन्न कम्पनीमा ८० लाखको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । एनस्याट प्रा.लि. काठमाडौंमा ३३ प्रतिशत सेयर ३० लाखमा र जेएमडी ग्रुप अफ कम्पनी काठमाडौंमा ५० प्रतिशत सेयर ५० लाखमा खरिद गरेको विवरणमा देखाइएको छ ।
आचार्यले आफूले ८५ लाख ऋण लिएको विवरण पेस गरेका छन् । प्रभु बैंक लैनचौर शाखाबाट पाँच लाख र दुहबी–८ का ओम थापाबाट ८० लाख रुपैयाँ ऋण लिएको उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ । आचार्यसँग ४१ लाखमा खरिद गरेको हुण्डाइ क्रेटा कार छ । कोसी प्रदेश सरकारका खानेपानी, सिंचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले ताप्लेजुङको पाथीभरा याङ्वरक–२ मा पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् । श्रीमतीको नाममा फुङलिङ–४ मा पाँच रोपनी ३ आना जग्गा रहेको उनले बुझाएको विवरणमा उल्लेख गरिएको छ । मेन्याङ्बोको नाममा इटहरी ६ मा १६ धुर जग्गा रहेको छ ।
उनीसँग श्रीमती र आफ्नो गरी सात तोला सुन, विभिन्न बैंक खातामा तीन लाख ८९ हजार ५८३ रुपैयाँ नगद रहेको उल्लेख छ । मन्त्री मेन्याङ्बोसँग विभिन्न चारवटा कम्पनीमा १० कित्ताको दरले ४० कित्ता सेयर छ । उता, भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले श्रीमती इन्दिरा कार्कीको नाममा झापाको बिर्तामोड–३ मा एक कट्ठा जग्गा, मोरङ सुन्दरहरैंचा–१ मा एक विगाहा १० कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।उनीसँग तीन तोला सुन र पाँच तोला चाँदी रहेको छ । विभिन्न बैंकमा गरी एक लाख ८७ हजार रुपैयाँ बैंक मौज्दात रहेको जनाइएको छ । मन्त्री चापागाईंसँग अपर खोरङ खोला जलविद्युत् आयोजनामा आफ्नो र श्रीमतीको नाममा गरी १.२५ प्रतिशत सेयर र अपर सोलुमा पनि ०.४८ प्रतिशत सेयर रहेको उल्लेख छ ।
घर बनाउन, जग्गा खरिद गर्न, सेयर खरिद गर्न र चुनाव लड्नका लागि आफूले इष्टमित्र र आफन्तजनबाट एक करोड २० लाख रुपैयाँ ऋण लिएको जनाएका छन् । श्रीमती इन्दिरा कार्कीको नाममा दुई लाखमा खरिद गरेको एउटा स्कुटर भएको विवरण पेस गरेका छन् । यस्तै, उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलासँग झापाको विर्तामोड–७ मा विभिन्न कित्तामा गरेर ३० कट्ठा पाँच धुर जग्गा पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् । उनीसँग ५० तोला सुन र ५०० तोला चाँदी रहेको छ ।
यस्तै, सिटौलाले आफूसँग ३० लाखको कार र दुई लाख ५० हजारको होण्डा मोटरसाइकल रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीसँग काठमाडौं– ३२ मा १३७ वर्ग मिटर जग्गा रहेको उल्लेख गरिएको छ । उक्त जग्गा २०५८ सालमा ४६ लाख ५० हजारमा खरिद गरेको विवरणमा उल्लेख छ । यस्तै, पैतृक सम्पत्तिका नाममा उनले सोलुखुम्बुको सोलुदुधकुण्डको ६ नम्बर वडामा विभिन्न कित्तामा गरी १०६९२।५० वर्ग मिटर जग्गा रहेको विवरण पेस गरेका छन् । राजभण्डारीसँग नगद १० लाख ७६ हजार रहेको विवरणमा उल्लेख छ । उनीसँग तीन तोला सुन रहेको छ ।
यस्तै, उनीसँग विभिन्न कम्पनीमा गरेर ५६ हजार ३५० थान सेयर रहेको छ । सोलुखुम्बु ग्रुपमा ३० हजार कित्ता, बेनी हाइड्रोमा २० हजार र सोलु हाइड्रोमा पाँच हजार कित्ता शेयर रहेको उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ । २८ लाखमा खरिद गरेको टाटा सुमो र २४ लाख ५० हजारमा खरिद गरेको ट्याक्टर, दुई थान मोटरसाइकल र एक थान स्कुटर रहेको जनाइएको छ । मन्त्री राजभण्डारीले २० लाख रुपैयाँ ऋण देखाएका छन् । स्वास्थ्यमन्त्री निर्मला लिम्बूले ताप्लेजुङ फुङलिङ–६ र ललितपुरको सानो हात्तीवन जग्गामा घर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । उनले घर र जग्गाको विवरण भने खुलाएकी छैनन् । उनीसँग झापामा पनि जग्गा रहेको छ ।
यस्तै, लिम्बूसँग २२ तोला सुन रहेको र ३५ तोला चाँदी रहेको उल्लेख गरिएको छ । अलैँची व्यवसाय र उद्योगमार्फत सुनचाँदी खरिद गरेको विवरणमा उल्लेख छ । मन्त्री लिम्बूको नाममा एउटा स्कुटर र युमा कपडा उद्योग रहेको उनले पेस गरेको सम्पत्ति विवरणमा उल्लेख छ । कोसी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले ताप्लेजुङको पाथीभरा याङ्वरक–२ मा पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् । श्रीमतीको नाममा फुङलिङ–४ मा पाँच रोपनी तीन आना जग्गा रहेको उनले बुझाएको विवरणमा उल्लेख गरिएको छ । मेन्याङ्बोको नाममा इटहरी–६ मा १६ धुर जग्गा रहेको छ । उनीसँग श्रीमती र आफ्नो गरी सात तोला सुन, विभिन्न बैंक खातामा तीन लाख ८९ हजार ५८३ रुपैयाँ नगद रहेको उल्लेख छ । मन्त्री मेन्याङ्बोसँग विभिन्न चारवटा कम्पनीमा १० कित्ताको दरले ४० कित्ता सेयर छ ।