सभामुखद्वारा संसदका सेवा सुविधाको लागि प्रयत्न गर्ने प्रतिवद्धता

बिहिबार, ३० चैत्र २०७९

काठमाडौं— सभामुख देवराज घिमिरेले संघीय संसद सचिवालयका कर्मचारीहरुको सेवा सुविधाका लागि प्रयत्न गर्ने प्रतिवद्धता जनाएका छन् । उनले यो वर्ष विभिन्न कारणले संसदका सेवा सुविधामा कमी आएतापनि आगामी वर्षमा त्यसमा क्रमश सुधार आउने कुरा बताएका हुन् ।

नयाँ वर्ष २०८० का अवसरमा संघीय संसद सचिवालयले गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । सभामुखकै सचिवालयका अनुसार सभामुख घिमिरेले संसद् सेवामा विगतमा धेरै आकर्षण रहेको तर, अहिले कमी आएको आफूले देखेको बताएका छन् । उनले भनेका छन्, ‘मुलुकको अर्थतन्त्रका कारण कर्मचारीलाई सेवा सुविधा पर्याप्त दिन सकिएको छैन । आगामी वर्ष सेवा सुविधाका लागि प्रयत्न हुनेछ ।’