भारतबाट आउने अधिकांशमा कोरोना सङ्क्रमण
काठमाडौं— भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको छ । प्रदेशमा चैतमा मात्रै दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भारतसँग सीमा जोडिएका क्षेत्रमा दिनहुँ कोरोना सङ्क्रमित भेटिन थालेका जनाएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले बताए । भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण देखिएकाले त्यसको प्रभाव यहाँ पनि पर्न थालेको उनको भनाइ थियो । उनले भने, ‘सङ्क्रमण पुष्टि हुने सबैजसो भारतबाट आएका व्यक्ति छन् । भारतमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले पनि सीमा क्षेत्रमा दैनिक आवागमन भइरहने हुँदा यहाँ सङ्क्रमितको सङ्ख्या बढ्न थाले हो ।’ भारतसँग सीमा जोडिएका यहाँका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा नियमित कोरोना परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ ।
यी नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेनमार्फत कोरोना परीक्षण पश्चात् मात्रै स्वदेश भित्रिन दिइने गरिएको छ । परीक्षणपछि सङ्क्रमण देखिनेलाई सम्बन्धित पालिकासँग समन्वय गरी होम आइसोलेसन बस्ने व्यवस्था मिलाइएको छ । सङ्मितलाई होम आइसोलेसनमा बस्न भने पनि आइसोलेसनको मापदण्डअनुसार उनीहरु आइसोलेसनमा नबस्दा समुदायमा जोखिम बढ्न सक्ने जोशीले बताए । उनले भने, “हामीले सङ्क्रमितलाई होम आइसोलेसनमा बस्ने भनेका छौँ, उनीहरुले होमआइसोलेसनमा नबस्दा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलने जोखिम बढेको छ ।”
सङ्क्रमणको जोखिम बढेसँगै कोरोना विरुद्धको खोप अभियानलाई पनि निरन्तरता दिइएको छ । प्रदेशका सबै स्थानीय तहमा कोरोना विरुद्धको बुस्टर डोज लगाउन तथा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयले आग्रह गरेको छ । सुदूरपश्चिममा हालसम्म छ लाख ५४ हजार ८८ को कोरोना परीक्षण गर्दा ६२ हजार एक सय ६८ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ ।