उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्न बाराका नेता कार्यकर्तालाई निर्देशन
काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाँणले बारा २ को उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्न बाराका कांग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बाराको महागढीमाई नगरपालिका–२ बरियारपुरमा शुक्रवार स्थापना गरिएको संयुक्त चुनावी सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै खाँणले सो निर्देशन दिएका हुन् । उनले बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनको प्रतिनिधित्व गरिरहेको कारण उनी नेपाली कांग्रेस समेतको उम्मेदवार भएको बताए । उनले कांग्रेस बाराका नेता र कार्यकर्ताहरूलाई खुलेर यादवलाई जिताउन चुनावी अभियानलाई अझ तीव्र र आक्रामक बनाउन निर्देशन दिए ।
खाँणले भने, ‘उपेन्द्रजी जसपा पार्टीको मात्र उम्मेदवार हुनुहुन्न । उहाँलाई पाँच दलीय गठबन्धनले उठाएको हो, उहाँ जति जसपाको उम्मेदवार हुनुहुन्छ उतिकै कांग्रेसको पनि उम्मेदवार हुनहुन्छ । उहाँलाई जिताउने सम्पूर्ण कांग्रेसी नेता कार्यकर्ताहरूको कर्तव्य हो । कांग्रेसका सम्पूर्ण साथीहरूसँग म उपेन्द्रजीलाई जिताउन खुलेर लाग्न आग्रह गर्दछु ।’ कार्यक्रममा बोल्दै उम्मेदवार उपेन्द्र यादवले बारा जिल्ला र समग्र मधेशको विकास र समृद्धि आफ्नो मूल चुनावी एजेण्डा भएको बताए । उनले निर्वाचनमा उम्मेदवारको पृष्ठभूमि र उसले गरेको कामको मूल्यांकन गरेर मतदान गर्न आग्रह गरे ।
खाँणले लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले पनि उपेन्द्र यादव जस्तो नेता संसद् बाहिर रहनु संघीयताको लागि घातक भएको बताए । पछिल्लो समय संघीयतालाई कमजोर पार्ने शक्तिहरू सक्रिय भइरहँदा यसको संरक्षणका लागि आवाज उठाउन पनि उपेन्द्र यादव जस्तो नेताको संसदमा उपस्थिति अपरिहार्य रहेको उनले बताए ।