रविको पार्टी मयुरको प्वाँख टाँसेको कौवा हो: महेश बस्नेत

शनिबार, २ बैशाख २०८०

काठमाडौं-  नेकपा एमालेका नेता महेश बस्नेतले रविले नेतृत्व गरेको पार्टी मयुर नभै मयुरको प्वाँख टाँसेको कौवा भएको बताएका छन् ।

लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले चितवन–२ का जनताले निर्वाचनमा हराउने जिकिर गर्दै बस्नेतले रविको पार्टी मयुर नभएर मयुरको प्वाँख टाँसेको कौवा भएको बताएका हुन्।

‘रविजीको पार्टी मयुर होइन, मयुरको प्वाँख टाँसेको कौवा हो । यो कुरा भन्न हामी हिच्किचाउन हुन्न । चितवन–२ का जनता यसपटक नक्कली राष्ट्रवादबाट मुक्त हुन्छन् । त्यहाँ नेकपा एमाले र कांग्रेसको प्रतिस्पर्धा हुन्छ । रविजी त्यसलाई पछ्याउनुहुन्छ’ उनले भने ।

चितवन २ मा रास्वपाका सभपति रवि लामिछानेसङ्ग नभै एमाले र काङ्रेसको बिचमा हुने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने १० वैशाखमा हुने उपनिर्वाचनमा पराजित हुने दाबी गर्दै एमालेको प्रतिस्पर्धा काङ्रेससङ्ग हुने जिकिर उनको थियो।

शनिबार काठमाडौंमा रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको समेत जिकिर गरे ।

विगतमा एमाले नेता कृष्णभक्त पोखरेलले राम्रो काम गरेका र एमाले उम्मेदवार रामप्रसाद न्यौपाने युवाहरुको बीचमा लोकप्रिय रहेकाले आफूहरुले जित्ने बस्नेतको दाबी छ ।

उपनिर्वाचनका लागि चितवन २ मा कांग्रेसबाट जितनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसहित २६ उम्मेदवारले प्रतिस्पर्धामा सहभागी भएका छन् ।