प्रधानमन्त्री हराएको सूचना

आइतबार, ३ बैशाख २०८०

काठमाडौं— नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री हराएको सूचना सुनाएका छन् ।

पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गरेका हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा उनले प्रहरीले मानिस हराएको सूचना निकाल्ने शैलीमा संसदमा प्रधानमन्त्री हराएको सूचना पढेका थिए ।

उनले सुनाएको सूचना यस प्रकार छ–
नागरिकताको नामः श्री पुष्पकमल दाहाल
चलन चल्तीको नामः प्रचण्ड
स्थायी ठेगानाः फेरिराख्ने
अस्थायी ठेगानाः कहिले खुमलटार, कहिले बालुवाटार ।
हुलियाः पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरासुरुवाल र टोपी लगाउने, उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने ।
अन्तिम पटक देखिएको स्थानः बालुवाटार छेउछाऊ
उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला ।