बालेनले भने, ‘सिंहदरबारको फोहोर उठाए लाइसेन्स खारेज गरिदिन्छु’
काठमाडौँ – एक साता बितिसक्दा पनि काठमाडौं महानगरपालिकाले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर अझै उठेको छैन । महानगरपालिका महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार सरकारले वार्ता गर्न नबोलाएसम्म सिंहदरबारबाट फोहोर नउठ्ने भएको हो ।
महानगर प्रमुख बालेन शाहको निर्देशनका कारण आइतबार पनि सिंहदरबारको फाहोर नउठाएको परिवर्तन नेपालका व्यवस्थापन प्रमुख मित्र घिमिरेले जानकारी दिएका छन् ।, ‘उनले भने, ‘मेयर बालेनले नभनेसम्म हामी फाहोर उठाउन सक्दैनौं,’ घिमिरेले भने, मौखिक रूपमा फोहोर उठाए लाइसेन्ससमेत खारेज गरिदिन्छु भन्ने ठाडो निर्देशन छ।
घिमिरेले मेयर बालेनले मौखिक रूपमा निकै कडा निर्देशन दिएका कारण आफूहरू फोहोर उठाउन अक्षम भएको बताए। यस्तै सिंहदरबार भित्रका सबै कार्यालयबाट फाहोर उठाएर कम्पाउन्डभित्रै राखिएको छ।
बालेनले गत शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै सिंहदरबारको फोहोर नउठ्ने बताएका थिए। महानगरका प्रवक्ता नवीन मानन्धरले सरकारले वार्ता गर्न नबोलाएसम्म सिंहदरबारबाट फोहोर नउठ्ने बताएका छन् ।
बालेनको अभिव्यक्ति र फाहोर नउठाउने निर्णयबारे सरकारले उनलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय समेत गरेको थियो। परिवर्तन नेपाल नामक संस्थाले राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्छ। काठमाडौंको भिआइपी एरियाबाट दैनिक नौ टन फोहोर उठ्ने गरेको छ।
संविधानको अनुसूची(८ मा फोहोरमैला व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ। फोहोरमैला व्यवस्थापन ऐन २०६४ ले पनि फोहोरमैला उठाउने र व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ।