सिंहदरबार भित्र खोज्न थालियो फोहोर व्यवस्थापनको विकल्प

सोमबार, ४ बैशाख २०८०

काठमाण्डौँ— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सिंहदरबार भित्रको फोहोर ल्याण्डफिल साइटमा लैजान नदिएपछि सिंहदरबार भित्रै फोहोर व्यवस्थापनको विकल्प खोजिएको छ। आज सोमबार १० दिन भईसक्दा पनि सिंहदरबारको फोहोर उठेको छैन तापनि भित्रका मन्त्रालयको प्राङ्गण वरपर फोहोर देखिएको छैन भने दुर्गन्ध पनि फैलिएको छैन ।

फोहोर ल्याण्डफिल साइटमा लैजान महानगरपालिकाले रोकेपछि वर्गीकरण गरेर सिंहदरबार भित्रै फोहोर व्यवस्थापनको विकल्प खोजिएको छ। सिंहदरबार भित्रको फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको परिवर्तन सेवा प्रालिले पुनः प्रयोग हुने र कुहिने फोहोर छुट्याएर व्यवस्थापनको काम गरेको हो । प्रालिका सञ्चालक मित्र घिमिरेका अनुसार सिंहदरबारबाट निस्किने फोहोर वर्गीकरण गरेर व्यवस्थापन गरिरहेको हो । कुहिने फोहोर र पशुका चारा हुने फोहोर छ्ट्याएर फोहोर व्यवस्थापन सुरु गरेका छौं । कुहिनेलाई खाल्डोमा र पशुका चारा हुने फोहोर किसानलाई पठाइरहेका छौं,’ घिमिरेले भने, ‘नकुहिने फोहोरमा पुनः प्रयोग हुनेलाई छुट्याएर व्यवस्थापन गरिरहेका छौं भने पुनः प्रयोग नहुनेलाई सिंहदरबारका केन्द्रीय उद्यानमा डम्प गरिरहेका छौं । ’

सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उत्पादन हुँदै आएको घिमिरे बताउँछन् । ५ टन मध्ये फोहोर वर्गीकरण गरेर ३ टन भन्दा धेरै फोहोरको व्यवस्थापन भएपनि करिब २ टन फोहोर ल्याण्डफिल साइट लैजान पर्ने फोहोर उत्पादन हुने गर्दछ । घिमिरेका अनुसार महानगरपालिका र सिंहदरबार बीच छलफल नहुँदा फोहोरमैला सिंहदरबार भित्रै व्यवस्थापन गर्न परेको हो । सिंहदरबारबाट निस्कने सबैभन्दा धेरै फोहोर क्यान्टिनहरुबाट हुने गर्दछ । सरकारी कायालयबाट प्रायः नकुहिने फोहोर निस्कने हुनाले त्यति छिट्टै समस्या नआएपनि क्यान्टिनबाट धेरै फोहोर निस्किँदा दुर्गन्धित हुने खतरा रहेको सफाइ कर्मचारीहरु बताउँछन् ।

केन्द्रीय उद्यानमा वर्गीकरणमा काम गरिरहेका एक सफाइ कर्मचारी भन्छन्, ‘मन्त्रालयबाट आउने फोहोर त धेरै जसो नकुहिने हुन्छ, क्यान्टिनबाट निस्किने फोहोरले गन्हाउने समस्या हुन्छ, त्यो पनि धेरै सुंगुरको चारा हुने बाहेक अरु खाल्डोमा हाल्ने तयारी गरेका छौं ।’ उनले सिंहदरबारका कार्यालय, क्यान्टिनले स्रोत मै फोहोर वर्गीकरण गरिदिए व्यवस्थापनमा सहज हुने बताए ।