निजामती सेवा ऐन अहिले कानुन मन्त्रालयमा छलफलका लागि पुगेको छः रेखा शर्मा
काठमाण्डौँ— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संघीय निजामती सेवा ऐन सरकारवालाहरूसँग छलफल भएर अहिले कानुन मन्त्रालयमा छलफलका लागि पुगेको बताएकी छिन्।
राष्ट्रिय सभा बैठकमा सरकारकी प्रवक्तासमेत रहेकी शर्माले निजामती ऐनलाई अत्यन्तै प्राथमिकतामा राखेर अघि बढाएको र अहिले कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणको रहेको जानकारी दिइन् । मन्त्री शर्माले कर्मचारीहरूको सरुवालाई व्यवस्थित बनाउने गरी ऐनमा आवश्यक व्यवस्था मिलाउन पनि सांसदहरूलाई आग्रह गरिन् । उनले कर्मचारीको सरुवाको विषय व्यवस्थित नभएको स्वीकार गर्दै अब बन्ने संघीय निजामती सेवा ऐनले त्यसलाई व्यवस्थित बनाउने बताइन् । ‘यो ऐनको बारेमा जुन माननीयज्यूहरूले कुरा उठाउनुभएको छ । त्यो चाहिँ सरकारको पनि अत्यन्तै ठूलो प्राथमिकताको विषय हो । र, सरकारले अत्यन्तै प्राथमिकतामा राखेर अन्तिम चरणमा पुर्याएको छ,’ उनले भनिन् ।