बानेश्वरमा घन्कियो, ‘प्रचण्ड चोर देश छोड’ को नारा

सोमबार, ४ बैशाख २०८०

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका–२०७९’ को विरोधमा विद्यार्थीले प्रदर्शन गरेका छन् । मन्त्रालयले जारी गरेको निर्देशिकाले विद्यार्थीको अध्ययन गर्ने नैसर्गिक अधिकार खोखिएको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

काठमाडौंको नयाँबानेश्वरमा भेला भएर विद्यार्थीले सरकार विरोधी नारा लगाएका थिए । उनीहरुले प्रचण्ड चोर देश छोड, नालायक शिक्षामन्त्री राजीनामा दे, हामीलाई एनओसी दिनै पर्छ, एनओसी रोक्न पाइदैन लगायतका नारा लगाएका थिए । गएको फागुन १८ गते शिक्षा मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले निर्देशिका स्वीकृत गरेका थिए ।

स्वीकृत निर्देशिका अनुसार विदेशमा अध्ययनका लागि जाने ७५ प्रतिशत विद्यार्थीको एनओसी रोकिने भएको छ । निर्देशिकाले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई मात्र एनओसी दिने व्यवस्था गरेको छ । अधिकाशं नेपाली विद्यार्थीहरु अस्ट्रेलियामा भेट कोर्ष, जापानमा जापानीज भाषा, क्यानडामा डिप्लोमा अध्ययन गर्नका लागि जाने गरेका थिए । अब उच्च शिक्षा अध्ययनका लागि शिक्षा मन्त्रालयमा सूचिकृत कलेज तथा विश्वविद्यालयमा जाने विद्यार्थीहरुको मात्र एनओसी जारी हुने शाखाले जनाएको छ ।

अध्ययनका लागि जापान जान नपाएको भन्दै विद्यार्थीले सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् । जापानमा भाषा अध्ययन गरेपछि उच्यशिक्षा अध्ययन गर्न पाइन्छ  , अस्ट्रेलिया, क्यानडा लगायतका देशमा ‘डिप्लोमा टु ब्याचलर’ को कोर्ष हुने भएकाले यसका लागि एनओसी खुलाउन पर्ने व्यवसायीको समेत माग छ । उनीहरुले पनि विभिन्न शक्ति केन्द्रहरु धाएर डिप्लोमा र भाषा कोर्ष अध्ययन गर्ने विद्यार्थीका लागि पनि एनओसी जारी गर्ने व्यवस्था गर्न माग गरिरहेका छन् ।

‘अस्ट्रेलियामा र क्यानडामा डिप्लोमा लिडिङ टु ब्याचलर अध्ययन गर्ने प्रावधान छ ।’, एक व्यवसायीले भने, ‘डिप्लोमा डिलिङ टु ब्याचलरमा अध्ययनका लागि जाने विद्यार्थीलाई ब्याचलरमा सिधै अध्ययन गर्ने अवसर प्राप्त हुन्छ । एक बर्ष डिप्लोमा अध्ययन गर्ने विद्यार्थीले सिधै ब्याचलर दोश्रो बर्षमा भर्ना हुन पाउँछ । त्यो सिधै ब्याचलर अध्ययन गर्न गए जस्तै हो । यसरी जाँदा विद्यार्थीको आर्थिक भार कम हुन्छ । तर सिधै ब्याचलर पढ्ने जाँदा ५ देखि १० लाख महङ्गो पर्ने हुन्छ ।’

विद्यार्थीको हितकै लागि आफूहरुले लभिङ गरिरहेको भन्दै सरकारले अटेरी गरे अदालत जाने ति व्यवसायीको भनाई छ ।