राप्रपा अध्यक्ष लिङदेनले गरे सडक संघर्षमा जाने घोषणा

मंगलबार, ५ बैशाख २०८०

काठमाडौँ— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले मिटरव्याजपीडितको समस्या समाधान नगरे सडक संघर्षमा जाने घोषणा गरेका छन् ।

लिङ्देनले मिटरज्याजपीडितमाथि सरकारले गरेको दमनप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको आलोचना गरेका हुन् । उनले भने, ‘देशमा कसैले पनि अन्यायमा पर्नु पर्दैन , कसैले पनि हेपिनु पर्दैन । राज्य अभिभावक छ निमुखाहरूप्रति राज्य उभिनुपर्ने ठाउँमा न्यायको माग गर्दै आएको मिटरव्याजपीडितहरूलाई सरकारको हिजो जुन ढंगले आक्रमण गरेको छ । त्यसको निन्दा र भर्त्सना गर्छु ।’ उनले सरकारले मिटरव्याजपीडितको समस्या समाधान नगरे सडक संघर्षमा जाने घोषणा गरे ।

उनले भने, ‘यतिबेला यस्तो सरकार छ जसले समाजमा गरिबहरूको अथवा सर्वहारा वर्गको अधिनायकत्व स्थापना हुनेछ भनेर सपना बाँड्ने पार्टीको नेतृत्वमा सरकार छ । तर, यतिनै बेलामा गरिबमाथि किन प्रहार भइरहेको छ । हामी भन्न चाहन्छौं सरकारले मिटरव्याजपीडितहरू र तराईमा आन्दोलनमा रहेकाहरूको माग सम्बोधन गरोस् । अन्यथा राप्रपा उनीहरुको साथमा सडकमा जाने घोषणा गर्छु ।’