बालेनले पटक–पटक संविधान मिच्दै कर्तव्य तथा जिम्मेवारीबाट भाग्ने काम गरेः हितबहादुर तामाङ
काठमाडौँ— नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पटक–पटक संविधान मिचेको र कर्तव्य तथा जिम्मेवारीबाट भाग्ने काम गरेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बालेनको आलोचना गरेका हुन् । तामाङले मेयर बालेनले बागमती नदी किनारको बस्ती हटाउन खोज्नु संविधान विपरीत र सिंहदरबारको फोहोर नउठाउनु कर्तव्य र जिम्मेवारी विपरीत भएको बताए। ‘काठमाडौंका मेयर साहेब अलि धेरै नै चर्चामा आउने गर्नुभएको छ । चर्चा यस कारणले कि उहाँले पटक पटक हरेक सवालमा संविधान मिच्ने, आफ्नो कर्तव्य र जिम्मेवारी बोध नगर्ने र गैरउत्तरदायी ढंगले प्रस्तुत हुने तरिकाले यो अवस्था सिर्जना भइरहेको छ’ उनले भने ।
सांसद तामाङले ११ चैतमा काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती खाली गर्न भनी जारी गरेको सूचना संविधान विपरीत भएको पनि बताए । ‘२१ चैतमा काठमाडौैं महानगरपालिकाले एउटा सूचना जारी गरेको थियो । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अनधिकृत बसोबासलाई ७ दिनभित्र हटाउन अनुरोध गरिएको थियो, निर्देशन दिइएको थियो, यदि नहटाएमा त्यसलाई क्षतिपूर्ति सम्बन्धित व्यक्तिले तिर्ने गरी महानगरपालिकाले हटाउँछ । यो संविधान विपरीत कुरा हो’ उनले भने ।
नेपालको संविधानको अनुसूची ९ मा सुकुम्बासीसँग सम्बन्धित समस्या संघ प्रदेश र स्थानीय तहले समन्वयात्मक ढंगले समाधान गर्ने गरी साझा सूचीमा राखेको पनि तामाङले बताए । उनले सिंहदरबारभित्रको फोहोर नउठाउने र उठाउने कम्पनीको इजाजत खारेज गर्ने धम्की दिनु मेयर बालेनको कर्तव्य र जिम्मेवारी विपरीत भएको पनि बताए ।
‘यो काठमाडौं महानगरपालिकाले बारम्बार संविधान मिच्ने र संविधानमा व्यवस्था भएको जनताको अधिकारलाई कुण्ठित तुल्याउने काम किमार्थ गर्न पाइन्न र त्यहाँका जनतालाई फोहोरसँग अलग राख्नको निमित्त वैज्ञानिक ण्ंगले जग्गाको रेखांकन गरेर त्यहाँका प्रभावित किसानहरुलाई जग्गाको अधिग्रहण गरी उनीहरुलाई मुआब्जा दिने व्यवस्था गरियोस्’ उनले भने ।