मिटर ब्याज पीडितहरुमाथि भएको बल प्रयोगबारे छानबिन गर्न समिति गठन

मंगलबार, ५ बैशाख २०८०

काठमाडौँ— मिटर ब्याज पीडितहरुमाथि भएको बल प्रयोगबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार सोमबार शान्तिवाटिकामा मिटर ब्याज पीडित र प्रहरीबीच भएको झडपको अनुसन्धान गर्न काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको हो । मंगलबार गृह मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले घटनाप्रति दुःख व्यक्त गरे ।

उनका अनुसार मिटरब्याज पीडितहरु बसेको स्थानमा बाँसको भाटा तथा इँटा जम्मा भएको देखेपछि प्रहरीले सतर्कता अपनाएको बताए । त्यसक्रममा प्रहरीले गेट लगाएको र भित्रबाट इँटा प्रहार भएपछि दुखद घटना भएको श्रेष्ठले बताए । उनले घटनामा प्रहरी टोलीको नेतृत्व गरेका डीएसपी गम्भीर घाइते भएको र घाइते मिटरब्याज पीडितहरुलाई पनि आफूले भेटेको बताए । उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले भने, ‘यो दुखद घटना हो, अब आइन्दा यस्तो घटना नहोस्, प्रहरी प्रशासनले संयमता अपनाओस् भनेका छौं ।’

मिटरब्याज पीडितहरुलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले बताए ।सरकारले आयोग बनाउनुका साथै कानुन संशोधन गर्ने निर्णय गरिसकेको भन्दै उनले भने, ‘ जनजागरण अभियान गरेर बल पुर्‍याउनुभएको छ, यसको निम्ति धन्यवाद । तर अनावश्यक रुपमा पीडितहरुलाई दुख दिने काम कसैले पनि नगरौं भन्ने अपील पनि गर्न चाहन्छु ।’