भर्खरै राजनीतिमा आएका नेताहरूलाई चर्चा बढी, टिक्न गाह्रो भयोः गणेशप्रसाद तिमिल्सिना
काठमाडौँ— राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भर्खरै राजनीतिमा आएका नेताहरूको चर्चा बढी भएको तर राजनीतिमा टिकेर देखाउन गाह्रो परेको बताएका छन् ।
मंगलबारबाट काठमाडौँमा सुरु भएको नेशनल चेस च्याम्पियनसिप २०२३ को उद्घाटन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टीका नेताहरूप्रति लक्षित गर्दै उनले सो कटाक्ष गरेका हुन् । उनले भने, ‘अब गर्ने कुराको महत्त्व हुन्छ, हिजो हामीले के गरेका थियौँ, त्यो इतिहास हो । इतिहासलाई बचाउने र त्यसलाई जीवन्त दिने कुरामा वर्तमानमा पनि त्यत्तिकै राख्नुपर्छ । आज त्यत्ति नेताहरूले चासो नदिएको जस्तो देखिन्छ । त्याग गरेका भन्दा भर्खरै हाईर्फाई गर्नेहरू नै बढी चर्चामा आउने गरेका छन् । कति टिक्नुहुन्छ, टिक्दा त राम्रो शुभकामना कति हुन्छ भविष्यले बताउँछ ।’
उनले बुद्धिचालका कारण मानिसहरूको दिमाग तेजिलो हुने पनि बताए । उनले नेकपा एमालेका अध्यक्ष कपी शर्मा ओली जेलमा रहँदादेखि नै खेलहरूमा उत्कृष्ट रहेको भन्दै चेस खेलकै कारण अहिलेको राजनीतिक खेलाडी बनेको ठट्टा गरे । उनले चेस खेलले मानिसको क्षमता विकास गर्ने भन्दै राजनीतिक खेलाडी बन्नुमा एउटा कारण चेस पनि रहेको बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि चेस धेरै खेल्ने खेलाडी भएकाले नै जङ्गलदेखि संसद् र सरकारसम्म पुग्नुको कारण हुनसक्ने बताए । अध्यक्ष तिमिल्सिनाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धेरै चेस खेलेका कारण धेरै पटक प्रधानमन्त्री बन्नुभएको हुनसक्ने पनि बताए । अध्यक्ष तिमिल्सिनाले सरकारले चेस खेललाई धेरै महत्त्व नदिएकाले आगामी दिनमा महत्त्व दिन आग्रह गरे ।