सरकारबाट जातिय तथा धार्मिक द्वन्द पैदा गराउने काम भइरहेको छः कौशल कुमार सिंह

बुधबार, ६ बैशाख २०८०

काठमाडौं— राष्ट्रिय पिछडावर्ग महासंघका अध्यक्ष कौशल कुमार सिंहले सरकारबाट एक जात र एक धर्मलाई आरक्षण व्यवस्थामा राखेर देशमा जातिय तथा धार्मिक उन्माद र द्वन्द पैदा गराउने काम पनि हुन गइरहेको बताएका छन् । उनले राष्ट्रिय समावेशी आयोगले संविधानको धारा ४२ (१) बमोजिम पिछडावर्गलाई आरक्षण दिनुपर्ने प्रतिवेदन गत वर्ष नै सरकारलाई बुझाइसके पनि सरकारले २०५५ सालदेखि समानता र सामाजिक न्यायको लागि संघर्षरत पिछडा वर्ग (OBC) लाई आरक्षण व्यवस्था अन्तर्गतको कलस्टरमा नराखेको बताए ।

सिंहले आज एक प्रेस विज्ञीपत जारी गर्दै सो कुरा बताएका हुन् । उनले सरकारले त्यसको विपरित ५० भन्दा बढी जातिय समूह रहेको र करिब ४५ लाखको जनसंख्या रहेको पिछडा वर्ग (OBC)  लाई आरक्षण व्यवस्थामा नराखेर पिछडा वर्ग (OBC) लाई अधिकारबाट बञ्चित गर्ने कार्य भएको बताए। उनले सरकारलाई यसबारे पुनः अध्ययन गरी जात र धर्मको नाममा दिइने आरक्षणलाई रोकेर आर्थिक, शैक्षिक, सामाजिक र राजनीतिक रुपमा पछाडी परेका वर्ग, समुदायलाई समुहगत आरक्षण श्रेणी बनाउन माग गरेका छन् ।

साथै, पिछडा वर्ग (OBC) को अधिकारको लागि संघर्षरतसँग छलफल गरी आर्थिक र शैक्षिक रुपमा कमजोर, राजनीतिक रुपमा पछाडी परेको र सामाजिक अन्यायमा परेका पिछडा वर्ग (OBC) को पनि एउटा क्लस्टर कायम गरी सबै क्षेत्रमा समान प्रतिनिधित्वको व्यवस्था (OBC)  र पिछडा वर्गको आर्थिक, सामाजिक, राजनीतिक लगायत भाषा, संस्कृतिको उत्थान विकासको लागि कार्य गर्न सरकारसंग जोडदार माग गरेका छन् ।