शैक्षिक कन्सल्टेन्सीले अवैध धन आर्जन गर्न खोज्दा विद्यार्थीले गुमाए ६ अर्व
काठमाडौँ – काठमाडौंका अभिशेक श्रेष्ठ (नाम परिवर्तन) ले पुतलीसडकको एक शैक्षिक कन्सल्टेन्सीमा गएर अस्ट्रेलियाको शिक्षा प्रणाली बारेमा जानकारी लिए । परामर्श व्यवसायीले आफूले जानेको विषयमा विद्याथीलाई परामर्श दिए । उनले अभिषेकलाई अनलाइनबाट थप जानकारी प्राप्त गर्न भन्दै केही शैक्षिक संस्थाहरुको वेवसाइड लिंक पनि उपलब्ध गराईदिए ।
अभिषेक कन्सल्टेन्सीबाट फर्किएर घर गए । घरमा बसेर उनले अस्ट्रेलियाका २० देखि २५ वटा शैक्षिक संस्थाहरुको बारेमा अध्ययन गरे । उनको रोजाइमा पर्यो अस्ट्रेलियाको सीब्यू विश्वविद्यालयमा पढाई हुने विजनेश र एकाउन्टिङ विषय । भोलीपल्ट कन्सल्टेन्सीमा गएर उनले आफ्नो रोजाईको विषयमा अफर लेटरका लागि आवेदन दिए । केही दिनपछि उनको अफर लेटर आयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको वैदेशिक अध्ययन अनुमति शाखाबाट उनले एनओसी निकालेर विश्वविद्यालयको ट्युसन फि तिर्ने तयारी गरे ।
ट्युसन फि कसरी तिर्ने भन्ने विषयमा उनलाई जानकारी नभएकाले फेरी कन्सल्टेन्सीमा गए । कन्सल्टेन्सीले विद्यार्थीलाई विशेष सहुलियत हुने भन्दै आफै ट्युसन फि तिरिदिने बताए । १८ हजार अस्ट्रेलियन डलर ट्युसन फि तिर्न पर्नेमा कन्सल्टेन्सीले १६ हजार डलरमात्र तिरे पुग्छ भनेपछि विद्यार्थीले ट्युसन फि र इन्स्योरेन्स बापतको रकम कन्सल्टेन्सीलाई बुझाइदिए । कन्सल्टेन्सीले विश्वविद्यालयको ट्युसन फि, स्वास्थ्य इन्स्योरेन्स लगायतका धेरै सुविधाहरु दिने भएपछि उनले आधा क्यास र आधा कन्सल्टेन्सीको बैंक खातामा रकम जम्मा गरिदिए ।
केही समयपछि अभिषेकको भिसा पनि लाग्यो । उनी नेपालबाट अस्ट्रेलिया गएर पढाई सुरु गरे । पढाई राम्रै चलिरहेको थियो । समय मिलाएर काम पनि गरिरहेका थिए । केही महिनापछि विश्वविद्यालयको लेखा शाखाले उनलाई बोलायो । उनलाई बोलाएर लेखा शाखाका एक कर्मचारीले भने, ‘तिम्रो ट्युसन फि फिर्ता भएको छ । स्वास्थ्य इन्स्योरेन्सको पोलिसी पनि अस्वीकृत भयो । फेरी ट्युसन फि र इन्स्योरेन्सको पैसा जम्मा गर्नु…।’
यो कुरा सुनेपछि अभिषेक छांगाबाट खसेजस्तै भए । उनले कन्सल्टेन्सीलाई तिरेको १५ लाख र इन्स्योरेन्सबापतको १ लाख ५० हजार स्वाहः भयो । त्यसपछि उनले कन्सल्टेन्सीलाई सम्पर्क गरे । कन्सल्टेन्सीलाई पनि विश्वविद्यालयले जानकारी गराइसकेको रहेछ । कन्सल्टेन्सीले आफू पनि फसेको भन्दै केही समय प्रतिक्षा गर्न अनुरोध गरेको अस्ट्रेलियाबाट मोटिभेट न्यूज डटकमका सम्पर्कमा आएका अभिषेकले भने ।
अभिषेक एक प्रतिनिधि पात्र मात्र हुन । उनी जस्ता हजारौं विद्यार्थी अहिले यो समस्याबाट पीडित बनेका छन् । ह्याकरको प्रलोभनबाट लोभिएर व्यवसायीहरुले मोटो रकम कुम्ल्याउने ध्याउन्नमा विद्यार्थीको भविश्य डामाडोल भएको छ । ‘अहिले म फेरी ट्युसन फि तिर्न सक्ने अवस्थामा छैन ।’, अभिषेकले भने, ‘मेरो करिअर वर्वाद हुने सम्भावना बढ्यो । के गर्ने होला ?’
कसरी फसे कन्सल्टेन्सी ?
ह्याकरहरुको समूहले अमेरिकाको ‘अमेरिकन एक्सप्रेस’ नामको क्रेडिट कार्ड ह्याक गरे । ह्याक गर्ने समूहमा केही नेपालीहरु पनि रहेको आशंका गरिएको छ । त्यही ह्याकरहरुको समूहले नेपालमा अवैध कार्यालय संचालन गरी धन्दा चलाइरहेको एलिएन्स इन्स्योरेन्सका प्रतिनिधिलाई सम्पर्क गर्यो । जसको केन्द्रीय कार्यालय अस्ट्रेलयामा छ । उनीहरुले पनि राम्रो आम्दानी हुने देखेपछि नेपालका शैक्षिक कन्सल्टेन्सीहरुमा मार्केटिङ गर्न थाले ।
यसरी मार्केटिङ गर्दा व्यवसायीलाई उनीहरुले २० देखि ५० प्रतिशतसम्म कमिशन आउने आश्वासन दिएका थिए । व्यवसायीले उनीहरुको प्रपोजल हेरेपछि लोभिएर काम सुरु गरेको परामर्श क्षेत्रका एक व्यवसायीको भनाई छ । ‘मलाई पनि यस्तो अफर आएको थियो । मैले उनीहरुको बैधानिकतामाथि प्रश्न गरेको थियो । यति धेरै कमिसन आउने श्रोत के हो ? भनेर समेत सोधेको थिएं ।’, नाम उल्लेख नगर्ने सर्तमा ति व्यवसायीले भने, ‘अफिसमा बुझेर आउँछौं भनेर गएका उनीहरु आजसम्म आएका छैनन् । मैले सुने अनुसार विद्यार्थीको इन्स्योरेन्स बापत ५० करोड नेपाली रुपैयाँ र ट्युसन फि बापत करिव साढे ५ अर्व रुपैयाँ फसेको छ ।’
श्रोतले दिएको जानकारी अनुसार नेपाली विद्यार्थीको करिब ६ अर्व रुपैयाँ फसेको छ । यसमध्ये ६० प्रतिशत विद्यार्थीको समस्या समाधान भइसकेको अर्को श्रोतले जानकारी दियो । ‘६ अर्व फसेको त मलाई जानकारी भएन । इन्स्योरेन्सको करोडौं फसेको मैले पनि सुनेको छु ।’, श्रोतले भन्यो, ‘यसबारेमा धेरैलाई जानकारी छैन । सरकारी संयन्त्रले अनुसन्धान गर्यो भने ५० प्रतिशत व्यवसायी पक्राउ पर्ने सम्भावना छ ।’
‘आफ्नो ग्राहकको कार्डबाट ठूलो मात्रमा डलर बाहिरिएपछि अमेरिकन एक्सप्रेसले ग्राहकमाथि शुक्ष्म अनुसन्धान गर्यो । ग्राहकलाई बोलाएर सोधपुछ गर्दा आफूले कारोबार नगरेको भन्दै नयाँ रहस्या खुल्यो ।’, विशेष श्रोतले भन्यो, ‘त्यसपछि बैंकले अमेरिकाको व्युरो अफ इन्टेलिजेन्स एण्ड रिसर्चमा उजुरी गर्यो । व्यरोको अनुसन्धान पछि कार्ड ह्याक भएको प्रमाणित भयो । व्युरो र बैंकको संयुक्त अनुसन्धानले कार्डबाट खर्च भएको क्षेत्र खोज्दा नेपालीहरु पनि परेका छन् ।’
श्रोतका अनुसार व्युरो र बैंकले अस्ट्रेलियाको सरकारसँगको सम्वन्वयमा आफ्नो रकम फिर्ता लिएको छ । ‘कार्डबाट खर्च भएको रकम कार्डमै फिर्ता हुनेगरी अमेरिकाबाट पत्र आएको र सोही पत्रअनुसार कलेजहरु र इन्स्योरेन्स कम्पनीले र।कम फिर्ता गरिदिएका हुन् ।’, श्रोतले भन्यो, ‘ट्युसन फि र इन्स्योरेन्स फि फिर्ता भएपछि विद्यार्थी समस्यामा परेका छन् । शैक्षिक कन्सल्टेन्सीहरु यसलाई पार लगाउने गरी जुटेका छन् । ’
यस विषयमा बुझ्न खोज्दा एलिएन्सस्थित नेपालका प्रतिनिधिलाई सम्पर्क हुन सकेन । फ्लोअपसहितको विशेष सामाग्री अर्को अंकमा…