आजदेखि उपनिर्वाचनका लागि प्रचार प्रसार गर्न निषेध
काठमाडौं— निर्वाचन आयोगले आजदेखि वैशाख १० गते हुने तीन क्षेत्रको उपनिर्वाचनका लागि प्रचार प्रसार गर्न निषेध गरेको छ ।
आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आज राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने बताएका हुन् । यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । यसैगरी उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न पनि पाइँदैन ।
आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीतरहारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर्नरगराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू हुने भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्नरनगराउन आयोग हार्दिक आग्रह गर्दछ ।’