जनताले ठूला राजनीतिक दलप्रति चासो देखाएन्नः देउवा

सोमबार, ११ बैशाख २०८०

काठमाडौं— नेपाली कांग्रेस संसदीय दलको बैठमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् ।

सांसद रामहरि खतिवडाले सोमवार संसद भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएकोले पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औंल्याएको बताए । देउवाको भनाई उद्धृत गर्दै खतिवडाले भने, ‘पार्टी सभापतिज्यूले अहिले देशको विषम परिस्थिति छ । यसलाई अब कसरी लैजाने? उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो । अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्तामा जोड दिनुभएको छ ।’

देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेका छन् । सांसद खतिवडाले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएको बताएका छन् । सांसदहरूले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने रु पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेका छन् । आज धेरै सांसदले बोलेको र सबैले बोल्ने क्रम नसकिएकाले भोलि १० बजे पनि बैठक बस्ने बताइएको छ ।

खतिवडाले थपे, ‘आगामी बजेटमा जनताका माग र कुरा कसरी सम्बोधन गर्ने, आयोजना पुराना कसरी सक्ने र नयाँ योजना कसरी थप्ने भन्ने बारेमा नै छलफल भयो । प्रत्येक निर्वाचन क्षेत्रमा देखिने योजनाहरू, कार्यक्रम आओस्, स्थानीय तहको कार्यालयमा जाने बाटोहरु कालोपत्रेको व्यवस्था होस्, शहरीकरण, खानेपानी र स्वास्थ्यको व्यवस्था होस् ।’