एमालेको नेतृत्वमा बनेको प्रदेश सरकार धमाधम सोत्तर हुँदै
काठमाडौँ – मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनपछि दोस्रो ठुलो दल बनेको नेकपा एमालेको नेतृत्वमा बनेका प्रदेश सरकार धमाधम सोत्तर हुदै गएका छन्। सत्ता समीकरणमा आएको फेरबदलसँगै एमाले नेतृत्वमा बनेको चार मध्ये तीन वटा प्रदेश सरकार सोत्तर भएका हुन्।
एमालेको नेतृत्वमा गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कोसी प्रदेश सरकार बनेका थिए । गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा लीला गिरी र सुदूरपश्चिममा राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए भने कोशीमा हिक्मत कार्की थिए । तर सोमबारसम्म आइपुग्दा अधिकारी, गिरी र रावल नेतृत्वका तीन वटा प्रदेश सरकार ढलिसकेका छन् । चारमध्ये अव एमाले नेतृत्वमा कोसी प्रदेश सरकार मात्र बाँकी छ ।
आफू नेतृत्वको सरकार बनाएबाहेक एमालेले मधेस, बागमती र कर्णालीमा माओवादी तथा जसपालाई सरकार बनाउन सहयोग गर्दै आफू पनि सहभागी भएको थियो । यी प्रदेशमा सत्ता सहकार्यबाट समेत एमाले बाहिरिइसकेको छ ।
सुदूरपश्चिमबाट ढल्न सुरु भएको एमाले नेतृत्वका प्रदेश सरकार गण्डकी हुँदै लुम्बिनी पुगेको छ । सुदूरपश्चिममा एमाले नेतृत्वको रावल सरकार ढलेपछि कांग्रेस माओवादीले मिलेर कांग्रेसको नेता कमलबहादुर शाह नेतृत्वको सरकार बनिसकेको छ । यता गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भने नयाँ सरकार गठन भैसकेका छैनन् ।