सरकारले नयाँ स्टक एक्सचेन्जको नाममा नीतिगत भ्रष्टाचार गर्दैछः डा. सिंह

मंगलबार, १२ बैशाख २०८०

काठमाडौं— प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले सरकारले नयाँ स्टक एक्सचेन्जको नाममा नीतिगत भ्रष्टाचार गर्न लागेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैंकको शून्य समयमा बोल्दै उनले सरकार प्रति सो आरोप लगाएका हुन् । उनले सरकारले नयाँ स्टक एक्सचेन्ज र कमोडिटीको नाममा भ्रष्टाचार गर्न खोजेको बताए । सरकारले लाइसेन्स दिँदा पहिले बोलकबोलमार्फत दिनुपर्ने उनको भनाइ छ । नेपाललाई आवश्यक नै नभएको नयाँ स्टक एक्सचेन्ज खोल्न लागेको भनेर उनले आपत्ति जनाएका हुन् ।

“स्टक एक्चेन्जको लाइसेन्स दिँदा पहिले बोलकबोल गर्नुपथ्यो कि पर्दैन थियो रु नेपाल भन्दा ६ हजार गुणा बढी अर्थतन्त्र भएको देश चीनमा दुई वटा स्टक एक्सचेन्ज छन् । त्यहाँ हाम्रो भन्दा ५० गुणा बढी जनसंख्या छ । भारतमा पनि ५० गुणा बढी जनसंख्या, एक हजार गुणा बढीको अर्थतन्त्र छ । त्यहाँ पनि दुईवटा स्टक एक्सचेन्ज छ,” उनले भने, “तर, यहाँचाहिँ अहिलेको नेपाल स्टक एक्चेन्जको नाममा ठूलो करप्सन गर्न खोजिदैछ । जुन ६० अर्बभन्दा बढी जायजेथा भएको अहिलेको हाम्रो स्टक एक्सचेन्जलाई सिध्याउन खोजिदैछ ।”

नेप्सेको निजीकरण गर्ने नीतिलाई सरकारले थाँती राखेकोमा पनि उनले आपत्ति जनाएका छन् । सरकारको अहिलेको स्टक एक्सचेन्जको सेयर निजी कम्पनीलाई बेचेर क्षमता बढाउनमा सरकार उदासिन भएको पनि उनले बताए ।